ताप्लेजुङ । प्रत्येक वर्ष जेठ लाग्नासाथ ताप्लेजुङका घाँसे डाँडाहरूमा भेला भएर बस्ने भेडा असोज लाग्नासाथ किसानको खेतबारीमा झर्थे । भेडाको बथान हिमाली क्षेत्रबाट तल झरेको हेर्न बेग्लै आनन्द हुन्थ्यो ।
तर, पछिल्ला वर्षहरुमा यस्ता दृष्य ताप्लेजुङ लगायत हिमाली जिल्लाहरुमा कमै देखिन्छ । कारण भेडापालन व्यवसाय लोप हुनु हो ।
पछिल्ला दिनहरुमा ताप्लेजुङसहित प्रदेश १ का पहाडी जिल्लाहरुमा भेडापालन व्यवसाय लोप हुन थालेको छ । भेडापालनका लागि प्रख्यात ताप्लेजुङको कालिखोला, सादेवा, लेलेप, पापुङलगायतका स्थानमा चरन अभावकै कारण यो व्यवसाय सङ्कटमा परेको हो ।
यस क्षेत्रमा सामुदायिक वन दर्ता र निजी जङ्गलमा अलैंचीखेती विस्तारले चरन अभाव भएको स्थानिय भेडापालक किसान बताउँछन् ।
सरकारी नियन्त्रणमा रहेका ससाना वन तथा ठूला वन समुदायलाई हस्तान्तरण गरिएपछि साथै निजी वन तथा खोरियामा समेत अलैंची, अम्लिसो, निगालो, चिराइतो, डालेघाँसजस्ता बोटबिरुवा र जडीबुटी लगाएर वनजङ्गलको हेरचाह गर्न र पशु चरन निषेध गर्न थालिएको छ ।
भेँडापालन व्यवसाय घटेपछि जिल्लामा औषधीको रूपमा समेत प्रयोग हुने भेडाको घिउसमेत पाइन छाडेको छ । घिउसँगै रौंबाट तयारी गरिने लुकुनी, राडी र पाखी बजारमा पाइन छाडेको स्थानिय ग्राहकको भनाइ छ ।
भेडीपालन गर्ने गुरुङ जाति पनि हिजोआज अर्को पेसा अङ्गाल्ने तयारीमा छन् । युवा पुस्ताले बेवास्ता गरेको कारण व्यवसाय सङ्कटमा परेको बताउनुहुन्छ ताप्लेजुङका भेडापालक किसान नरबहादुर बस्नेत ।
कृषि ज्ञान केन्द्र र पशुसेवा कार्यालयले भेडापालनका लागि कुनै चासो नदिएको किसानको आरोप छ । यता पशुसेवा कार्यालय ताप्लेजुङले किसानका लागि घुम्ति गोठ व्यस्थापन, र भेडी गोठ सुधारका लागि विभिन्न कार्यक्रम गरिरहेको दाबी गरेको छ ।
पुर्खौली भेडापालन व्यवसायलाई व्यवसायीले समय सापेक्ष परिवर्तन गर्न नसक्दा र सरकारले पनि क्षेत्र निधारण गरी पर्याप्त लगानी नगर्दा भेडापालन व्यवसाय सङ्कटमा परेकोले व्यवसायीहरू बेरोजगारी बन्ने अवस्था देखिएको छ ।
फोटो : ताप्लेजुङका युवा व्यवसायी तथा सञ्चारकर्मी कमल विष्टको फेसबुकबाट साभार गरिएको हो ।