चितवन । प्रधानमन्त्री केपी ओलीले केही वर्षमै जनताले अनुभूत गर्नेगरी विकास हुने दाबी गरेका छन् । शनिबार चितवनमा आयोजित नेपाल कम्युनिस्ट पार्टी (नेकपा) ओली समूहको सभालाई सम्बोधन गर्दै ओलीले भने ‘दाजुभाइ, दिदीबहिनीहरु ढुक्क हुनुहोस्, देशको विकास गरेरै छोडिन्छ, केही वर्षभित्रै जनताले अनुभूत गर्नेगरी विकास हुन्छ ।’
जस्तोसुकै कठिन परिस्थितिमा पनि आफूले घुँडा नटेको भन्दै ओलीले नेपालको स्वाभिमानका लागि आफूले अगुवाई गर्ने दाबी गरे । ओेलीले अब घुँडा टेक्नुपर्ने अवस्था नभएकाले नेपालको स्वाभिमान माथि उठ्ने र जनताले धोका नपाउने बताए ।
‘निरंकुश राजतन्त्र हुँदा घुँडा टेकिएन । पञ्चायती तानाशाही हुँदा घुँडा टेकिएन । कुनै अवस्थामा घुँडा टेकिएन’, ओलीले भने, ‘नेल, हत्कडी लगाएर गोलघरमा थुन्दा घुँडा टेकिएन । अब घुँडा टेक्नुपर्ने कुनै आवश्यकता र अवस्था छैन । नेपालको स्वाभिमानलाई माथि उठाइन्छ साथीहरु ढुक्क हुनुस् । दाजुभाइ दिदीबहिनी ढुक्क हुनुहोस् ।’
ओलीले देशको रक्षा आफ्नै नेतृत्वमा हुने भन्दै जनतालाई धोका नदिने बताए । ‘तपाईंहरुले धोका पाउनुहुन्न, देशको राष्ट्रियता रक्षा, राष्ट्रिय हितको रक्षा, देशको स्वाधिनताको सही अर्थमा रक्षा र प्रयोग, देशको जमिनको रक्षा अहिलेको नेतृत्व र अहिलेको सरकारले गर्नेछ’, ओलीले भने, ‘त्यसको अगुवाई मैले गर्नेछु तपाई्रहरु ढुक्क हुनुस् ।’
ओलीले चुनाव हुँदैन भन्ने कुराका पछाडि नलाग्न आग्रह गर्दै तोकिएकै मितिमा चुनाव हुने दाबी गरे । उनले आत्मविश्वासका साथ अगाडि बढ्न सबैलाई अनुरोध गर्दै यस्तो बताएका हुन् । चितवनमा चुनाव अगाडि फेरि शनिबारको सभामा सहभागी भन्दा दुई गुणा बढी जनताको सहभागीतामा सभा हुने र त्यहाँ आफू उपस्थित हुने प्रतिवद्धता समेत ओलीले जनाए । सभालाई गृहमन्त्री रामबहादुर थापा ‘बादल’लगायतले सम्बोधन गरेका छन् ।
२०२१ भित्रमै नेपालबाट कोरोना भगाउँछौँ
प्रधानमन्त्री ओलीले सन् २०२१ भित्रमै नेपालबाट कोरोना भगाउँने बताएका छन् । सभालाई सम्बोधन गर्दै ओलीले यस्तो बताएका हुन् ।
‘कठिनाइ झेलेर काम गर्नेलाई तीन महिनाभित्र खोप लगाउने काम सम्पन्न गर्नेछौँ’, ओलीले सभालाई सम्बोधन गर्दै भने, ‘२०२१ भित्र सम्पूर्ण जनतालाई खोप लगाएर कोभिड–१९ लाई नेपालबाट भगाउँछौँ । बाँकी विश्वले पनि भगाउँछ भन्ने विश्वास छ ।’
एक वर्षसम्म देशको विकासमा कोरोना भाइरसले अवरोध गरेको र अब तीब्र गतिमा विकास हुने उनको भनाइ छ । ‘यो देश प्राकृतिक हिसाबले सुन्दर मात्र होइन खनिजले भरिपूर्ण छ’, ओलीले भने, ‘कोभिडले अलिकति असर गरेको छ तर अब देशको विकास तीब्र गतिले गर्न सकिन्छ ।’
मेयरलाई व्यङ्गय
भरतपुर महानगरकी मेयर रेणु दाहालप्रति व्यङ्ग्य गर्दै ओलीले यत्ति ठूलो जनसभामा मेयर खोइ भनेर प्रश्न गरे । ‘यस महानगरपालिकामा अलिअलि मतपत्र च्यातेर जिते पनि यहाँका जनताले भोट त दिएकै थिए । खोइ तपाईंहरुको मेयर ?’, ओली भने, ‘तपाईंहरु यहाँ हुनुहुन्छ तर मेयर खोई । सायद मेयर पिकनिक खान जानु भयो होला !’ उनले मेयर रेणुलाई तपाईंहरु काम गर्दै गर्नुहोस् हामी विकास गछौँ भन्ने जवाफ दिएका छन् ।