काठमाडौं । ज्योती लाईफ इन्स्योरेन्स कम्पनीको प्राथमिक कित्ता सेयर (आईपिओ) मा यहि फागुन २३ गतेदेखि आबेदन दिन पाईने भएको छ । कम्पनीले ६६ करोड रुपैंयाँ बराबरको ६६ लाख कित्ता सेयर निस्कासन गर्न लागेको हाे ।
निस्कासन गर्न लागेको कूल आईपिओको ५ प्रतिशत कर्मचारीहरुका लागि तथा ५ प्रतिशत सामूहिक लगानी कोषका लागि छुट्याएर बाँकी रहेको ५९ लाख ४० हजार कित्ता सेयरमा सर्बसाधारणले अबेदन दिन पाउने छन् ।
सो आईपिओमा छिटोमा फागुन २८ गते तथा ढिलोमा चैत्र ८ गतेसम्म आबेदन दिन सकिने छ । कम्पनीको सेयर निस्कासन तथा बिक्री प्रबन्धकमा एनएमबि क्यापिटल लिमिटेड नियुक्त भएको छ ।
कम्पनीले निस्कासन गर्न लागेको आईपिओ कूल पूँजीको ३० प्रतिशत हो । आईपिओ जारी गरे पछि कम्पनीको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैंयाँ पुग्नेछ । नियामक निकाय बीमा समितिले जीबन बीमा कम्पनीहरुलाई चुक्ता पूँजी २ अर्ब पुर्याउन निर्देशन गरे अनुसार नै यो बीमा कम्पनीको पनि चुक्त पूँजी २ अर्ब नाघ्ने देखिन्छ ।
हाल कम्पनीको चुक्ता पूँजी १ अर्ब ५४ करोड रहेको छ भने क्रेडिट रेटिङ ट्रिपली बी इस्युअर रेटिङ प्रप्त गरेको छ । यसको अर्थ समय मै वित्तीय दायीत्व पुरा गर्न सक्ने भन्ने हुन्छ ।
चालु आर्थिक वर्ष २०७७/७८ मा आईपीओ जारी गर्ने यो ५ औ बीमा कम्पनी हो भने जीवन बीमा तर्फ यो तेस्रो हो ।