एजेन्सी, बेइजिङ । चिनियाँ र विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) को संयुक्त टोलीको अध्ययनले कोरोना भाइरस चमेरोबाट अर्को जनावरमार्फत मानिसमा सरेको प्रारम्भिक प्रतिवेदन तयार पारेको छ।
एसोसिएटेड प्रेस (एपी) लाई प्राप्त मस्यौदा प्रतिवेदनमा प्रयोगशालाबाट मानिसमा कोरोना भाइरस सरेको भन्ने यसअघिको सम्भावित आशंकामा ज्यादै न्यून सत्यता रहेको उल्लेख छ। अनुसन्धानका नतिजा यसअघि अपेक्षा गरिएअनुरुप नै आएको तथा त्यसमा धेरै प्रश्न अनुत्तरित छन्। यस टोलीले प्रयोगशालाबाट भाइरस बाहिरिएको बाहेक अन्य सबै पक्षमा अनुसन्धान गर्न सुझाव दिएको छ।
प्रतिवेदन सार्वजनिक गर्न पटक–पटक ढिलाइ गरिएको छ। चिनियाँ अधिकारीले प्रतिवेदनका निचोडलाई लिएर विवाद गरेको आशंका भइरहेको अवस्थामा डब्लुएचओका एक अधिकारीले गत सप्ताहान्तमा केही दिनभित्रै प्रतिवेदन तयार भइसक्ने बताएका थिए। एपीले जेनेभास्थित डब्लूएचओको कार्यालयका एक कूटनीतिज्ञबाट सोमबार अन्तिम मस्यौदा प्रतिवेदन प्राप्त गरेको थियो। तर, उक्त प्रतिवेदन अन्तिम चरणमा परिवर्तन हुने वा नहुने बारेमा भने केही स्पष्ट छैन।
अनुसन्धाताहरूले चार वर्गमा परिस्थितिलाई चित्रण गरेका छन्। जसमा चमेरोबाट अर्को जनावर हुँदै मानिसमा कोरोना भाइरस संक्रमण भएको स्थितिलाई प्रमुख रुपमा समेटिएको छ।