ताप्लेजुङ। ताप्लेजुङलाई तिन महिना भित्र पूर्ण साक्षर जिल्ला घोषणा गर्ने भएको छ । जिल्लाका नौ स्थानीय तहका प्रतिनिधिहरूले तिन महिना भित्र साक्षर बनाउन प्रतिबद्धता जनाएका हुन ।
शिक्षा तथा मानव स्रोत विकास केन्द्र भक्तपुरले ताप्लेजुङ सदरमुकाम फुङ्लिङमा स्थानीय तहका प्रमुख पदाधिकारीसँग गरेको अनुशिक्षणमा स्थानीय तहका प्रमुखहरूले २० असार अगावै आ–आफ्ना स्थानीय तहलाई साक्षर पालिका घोषणा गर्ने र २० असारभित्रै ताप्लेजुङलाई साक्षर जिल्ला घोषणा गर्ने प्रतिबद्धता जनाएका थिए ।
केन्द्रका निर्देशक गीता घिमिरेका अनुसार अवधारणा पत्रमा राष्ट्रभाषा र मातृभाषाका वर्ण–अक्षरको पढाइ र लेखाइ, नेपाली वा मातृभाषामा लेखिएका मूल्य सूची र बिलको पढाइ, आफ्नो र परिवारका सदस्यको नाम, उमेर लेखाइ एवं पढाइ, मोबाइल र क्यालकुलेटरका अङ्क र अक्षर चिनेर प्रयोग गर्न सक्नेलाई साक्षर भएको प्रमाणपत्र दिइनेछ ।
ताप्लेजुङका ९ मध्ये २ स्थानीय तहले यसअघि नै पूर्ण साक्षर पालिका घोषणा गरिसकेको जनाएका छन् । फुङ्लिङ नगरपालिका र आठराई त्रिवेणी गाउँपालिकाले २०७५ भदौमै पूर्ण साक्षर पालिका घोषणा गरेको पालिकाहरूले जनाएको छ ।
नेपाल लाइफ इन्स्योरेन्स ताप्लेजुङ शाखाले बिमीतका परिवारलाई मृत्यु दाबी रकम प्रदान गरेको छ । २०७६ पौषमा बिमा गरेर गत असोजमा मृत्यु भएका ताप्लेजुङ मिक्वाखोला–५ पापुङका वाङ्दी शेर्पाको परिवारलाई १० लाख ६५ हजार रुपैयाँ हस्तान्तरण गरिएको हो ।
शाखाका प्रमुख हिमाल राईले एक वर्षको बोनस ६५ हजार सहितको रकम बिमीतका श्रीमती दावाफुटी शेर्पालाई हस्तान्तरण गरे । १० लाख रुपैयाँको बिमा गरेको वर्ष दिन नपुग्दै शेर्पाको मृत्यु भएको थियो । परिवारले बोनससहित दाबी भुक्तानी पाएका हुन् । १५ वर्षे जीवन बिमा गरेका शेर्पाले पहिलो किस्ता बापत १ लाख १३ हजार मात्रै तिरेका थिए ।