विराटनगर । प्रदेश १ की सामाजिक विकास मन्त्री उषाकला राई शुक्रबार अचानक भारतबाट नेपाल प्रवेश गर्ने विराटनगर स्थित ‘चोरबाटो’ पुग्दा प्रहरीलाई भारतबाट आउने र जानेलाई छेक्न हम्मे हम्मे प¥यो ।
मन्त्रीसहित मन्त्रालयका सचिव र कर्मचारी अनुगमनमा निस्किन साथ मुख्य नाका रानीसहित चोरबाटोमा खटिएका शसस्त्र र नेपाल प्रहरीलाई वारी पारी गर्नेलाई केही समय रोक्न पनि धाउ धाउ भएको प्रष्ट देखिन्थ्यो ।
सीमानामा खटिएका सूरक्षाकर्मीलाई समयमानै मन्त्री आउने जानकारी भएकाले होला चोरबाटोलाई पनि सुनसान बनाउने प्रयासमा उनिहरु खटिएको देखिन्थ्यो । तर, मन्त्रीसहितको टोली पुग्दा पनि पारीबाट वारी आउने र वारीबाट पारी जाने तयारी अवस्थामा बसेकाहरुको हुल प्रसस्त भेटियो ।
मन्त्री राईले सीमानामा खटिने सशस्त्र प्रहरीलाई चोरबाटो पुर्णरुपमा बन्द गरेर मुख्य नाकाबाटनै स्वास्थ्य परीक्षण गर्दै नेपाल आउने र जाने व्यवस्था मिलाउन निर्देशन दिईन् । ‘यता यत्रो बाटो बनेको रहेछ, एउटा मात्रै होइन दुई, तीनवटा बाटो देखिन्छ, तपाईहरु के हेरेर बस्नुहुन्छ ?’ मन्त्री राईले सीमानामा सूरक्षा व्यवस्थाको नेतृत्व गरिरहेका शसस्त्र प्रहरीका तीर्थ पौडेललाई भनिन् ‘यो अवस्था अब हुनुभएन, यता बन्द गरेर मुख्य नाकाबाट प्रकृया पुरा गरी पठाउनुस् ।’
मन्त्रीले यस्तो निर्देशन दिएपनि सीमानामा खटिएका शसस्त्रले भिडलाई नियन्त्रण गर्न र मुख्य नाकाबाट पठाउन सकेको थिएन । मुख्य नाका रानीबाट भारत जान निषेध भएकाले ‘चोरबाटो’को प्रयोग गर्दै भारतीय बजार जोगवनी गएर किनमेल गरी फर्कने र जानेको भिड दैनिक लाग्ने गर्छ ।
मुख्य नाका भन्दा १ किलोमिटर उत्तर तर्फ खुल्ला स्थान भएकाले यो बाटो भएर दैनिक हजारौँ आवत जावत गर्छन् । तिनिहरुबाटनै प्रदेश १ मा कोरोना संक्रमण बढेको सामाजिक विकास मन्त्री राई बताउँछिन् । ‘मुख्य नाकाबाट नेपाल आउने दैनिक ८ जना छन्, तर, यो चोरबाटो भएर हजारौँ प्रवेश गर्दा रहेछन्,’ उनले भनिन् ‘यसले जोखिम बढाएको छ, मैले आजनै अनुगमन गरी चोरबाटो पुर्ण बन्द गर्न निर्देशन दिएको छु ।’
मुख्य नाका सुनसान हुँदा चोरबाटोमा भने दैनिक भिड लाग्ने गरेको छ ।