विराटनगर । विराटनगरका विभिन्न अस्पतालमा विगत १७ घण्टामा ७ जनाले कोरोना संक्रमणकै कारण ज्यान गुमाएका छन् । बुधबारसाँझदेखि बिहीबार दिउँसोसम्मका तथ्याङ्क अनुसार दुई बृद्ध पुरुषसहित सातजनाले संक्रमणका कारण ज्यान गुमाएका हुन् ।
ज्यान गुमाउनेमा कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा चार, नोबेल शिक्षण अस्पतालमा दुई र न्युरो अस्पतालमा एकजना छन् ।
कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा विराटनगर महानगरपालिका–१० का ५७ वर्षीय पुरुष, सुनसरीको कोसी गाउँपालिका–४ का ६५ वर्षीय वृद्ध, महानगरपालिका–१३ का ५० वर्षीय पुरुष र मोरङको जहदा गाउँपालिका–५ का २५ वर्षीय युवाको मृत्यू भएको हो ।
उनिहरु चारै जनाको बुधबार मध्यरात देखी विहीबार दिउँसो सम्ममा ज्यान गएको अस्पतालले जनाएको छ ।
कोसी अस्पताल कोभिड–१९ उपचार केन्द्रमा ५० जना संक्रमितको उपचार अहिले पनि भइरहेको छ । उपचार गराउनेमा ४० पुरुष र १० जना महिला रहेका छन् ।
यस्तै विराटनगरको नोबेल शिक्षण अस्पतालमा पनि कोरोना संक्रमित दुई जनाको मृत्यु भएको छ । पाठेघरमा देखिएको समस्याका कारण अत्याधिक रक्तश्राव हुँदा विराटनगर–५ कोचाखालकी ३७ वर्षीया महिलाको बुधबार राति ९ः३० बजेतिर मृत्यु भएको छ । उनमा पनि कोरोना पोजेटिभ देखिएको थियो ।
नोबेलमै उपचारका लागि भर्ना गरिएका विराटनगर महानगरपालिका–१९ का ६४ वर्षीय वृद्ध संक्रमित पुरुषको पनि बुधबारसाँझ ६ बजेतिर मृत्यु भएको छ ।
विराटनगरकै न्युरो अस्पतालमा मोरङको रंगेली नगरपालिका–३ का २६ वर्षीय युवाको मृत्यु भएको छ । दुर्घटनामा परेर घाइते भएपछि १७ दिनदेखि उपचाररत उनको बुधबारसाँझ स्वाब संकलन गरेर पीसीआर परीक्षण गराउँदा रिपोर्ट पोजिटिभ आएको थियो ।