विराटनगर । कोरोना महामारीको समयमा पनि एनआईसी एसिया बैंकले ऋणीहरुलाई चर्को व्याज बढाउँदै ठगि गर्न थालेको छ ।
यस्तै ठगिको सिकार भएका धेरै विराटनगरबासी अहिले कानुनि उपचारको बाटो खोज्न थालेका छन् । बैंकले घर कर्जामा करिब १६ प्रतिशत ब्याजदर लिने गरेको पाइएको छ । सवारी साधनका लागि लगानी भएको कर्जामा पनि बैंकले करिब १५ प्रतिशत ब्याजदर लिने गरेको पाइएको छ ।
यस अघि सम्म लघुवित्तले अत्यधिक ब्याजदर लिने गरेको भन्दै आलोचना हुने गरेको थियो । तर, अहिले त्यो आलोचनाको लाईनमा एक नंबरमा एनआईसी एसिया बंक पनि उक्लिएको छ ।
बैंकले नेपाल राष्ट्र बैंकको निर्देशनको समेत धज्जी मात्रै उठाएका छैन महामारीमा के गर्ने भन्ने सामाजिक उतरदायित्व पनि भुलेको छ ।
बैंकले आफ्नो पुराना ऋणीलाई २०७८ सालदेखि ब्याजदर बढेको भन्दै पत्र काटिरहेको पीडित सेवाग्राहरीले बताएका छन् । ‘मैले एनआईसी एसिया बैंकको विराटनगर शाखाबाट घर कर्जा लिएको थिएँ, ब्याजदर बढेको भनेर चिठ्ठी आएछ’ बैंकका एक ग्राहकले भने, ‘खोलेर हेर्दा १५.७० प्रतिशत पुगेको देखेर म त अचम्ममा परेँ ।’
कोरोना महामारीको समयमा कतिपय बैंकहरुले आधार दर वा आधार दरमा थोरै प्रतिशतमात्रै प्रिमियम जोडेर ऋण लगानी गर्ने गरेका छन् । त्यस्तो प्रमियम दर समान्यतया बैंकहरूले २ प्रतिशत लिने गरेका छन् ।
एनआईसी एसिया बैंकको चैत मसान्तसम्म आधार दर ६.७७ प्रतिशत रहेको छ । आधारदरमा ९ प्रतिशत भन्दा धेरै प्रिमियम जोडेर बैंकले ब्याजदर बढेको भन्दै पत्राचार गरेको छ ।
बैंकको ब्याजदर बढ्ने मूख्य कारक नै आधार दर हो । एनआईसी एसिया बैंकको अघिल्लो वर्षको चैत मसान्तमा आधार दर ९.६१ थियो । अर्थात् पहिलेभन्दा अहिले आधार दर घटेको छ । आधार दर घट्दा ब्याजदर पनि घट्नुपर्नेमा अझ अस्वभाविक रुपले बढाएर ऋणीसँग ब्याज असुल उपर गर्ने गरेको हो ।
महामारीको मौका छोपी ‘क’ वर्गको एनआईसी एसिया बैंकले भने यतिधेरै ब्याजदर असुलेर आफूलाई तनाब दिएको ती ऋणी बताउँछन् ।
एनआईसी एसिया बैंकको विराटनगर शाखाबाट मात्रै धेरै जना ऋणीलाई अति महँगो ब्याजदर लिने गरेको पाइएको छ । सम्पर्कमा आएका केहिले आफ्नो नाम खुलाउन चाहेका छैनन् ।
विराटनगर शाखाबाटै घर कर्जा लिएका दिनेश सुवेदीले भने आफूलाई बैंकले अन्याय गरेको बताए । उनलाई पनि बैंकले घर कर्जामा करिब १६ प्रतिशतसम्म ब्याजदर पुगेको भन्दै चिठी थमाएको छ । यो कुरो बाहिर आएपछि बैंकले ब्याजदर घटाउने आश्वासन समेत दिएको उनले बताए । तर, अहिलेसम्म कार्यान्वयन भने नभएको उनको गुनासो छ ।
‘म मात्रै होइन म जस्ता पीडित धेरै हुनुहुन्छ, मैले बोले पछि अरु धेरै जनाले बोल्छु भन्नु भएको छ’ सुवेदी भन्छन् ।
बैंकले अति नै अन्याय गरेको भन्दै उनले न्यायका लागि नेपाल राष्ट्र बैंकदेखि प्रधानमन्त्री कार्यालयसम्म जाने योजना बनाएको सुनाए । यस्तो महामारीका बेला पनि अत्यधिक चर्को ब्याजदर लिएर तनाव दिएको भन्दै उनले कारवाहीका लागि सरकारलाई गुहार्ने बताए । ‘हामी केही दिनमै राष्ट्र बैंकसँग मात्रै होइन, कारबाहीका लागि प्रधानमन्त्री कार्यालयसम्मै पुग्छौं, यो हाम्रो विवसता हो’ उनले भने ।
बैंकको विराटनगर शाखाका प्रमुख सञ्जिवकुमार दाहालले आफ्नो ऋणीलाई ब्याजदर बढेको भनेर पत्राचार गरेको स्वीकार गरे । तर, कोरोना महामारीका कारण आफू अहिले बिदामा रहेको बताएका उनले थप कुरा भने गर्न मानेनन् ।
‘कुन ग्राहकको हो के हो ? म अहिले विदामा छु, पछि अफिस गएपछि मात्रै हेर्न सकिन्छ’ उनले छोटो जवाफ फर्काए ।
नेपाल राष्ट्र बैंकमा भने यसको गुनसो पुगिसकेको छैन । वाणिज्य बैंकले १६ प्रतिशतसम्म ब्याजदर लिनु अचाक्ली नै भएको उनले बताए ।
‘त्यत्रो अचाक्ली त नहुनु पर्ने हो, तर यत्तिकै अहिले बोल्न सक्ने कुरा भएन’ राष्ट्र बैंकका प्रवक्ता देवकुमार ढकालले भने, ‘पहिले के हो सत्यतथ्य कुरा हेर्नु पर्छ, हामीकहाँ उजुरी प¥यो भने हामी आवश्यक कारवाही अघि बढाइहाल्छौं ।’ अनलाईनखबर