विराटनगर । दोस्रो चरणको कोरोना महामारीका कारण देशका अधिकाँस जिल्लामा निषेधाज्ञा छ । सरकारले गरेको निर्णयको पालना गराउन सुरक्षा निकाय मात्रै सडकमा छ । सुरक्षा निकायको थोरै जनशक्तिले निषेधाज्ञालाई कडाई गर्न नसकिरहेको समयमा मोरङको एक स्थानीय तहमा भने शिक्षक र सरकारी कर्मचारी पनि नाका र बजारमा कडाई गर्न उत्रिएका छन् ।
सरकारी विद्यालय र केही सरकारी कार्यालय पनि बन्द भएको समयमा फुर्सदिला बनेका कर्मचारी सुरक्षाकर्मीलाई सघाउन सडक र गल्लिमा पुगेका हुन् । यो क्रमको सुरुवात पहिलो पटक लेटाङ नगरपालिका २ बाट भएको र अहिले क्रमश अन्य वडामा पनि कर्मचारीले सुरक्षाकर्मीलाई साथ दिन थालेको २ का वडाध्यक्ष तेजप्रसाद तिम्सिना बताउँछन् । ‘नागरिक आफैले सुरक्षित भएर बस्नु पर्ने हो, तर, सबैमा चेतना कहाँ हुन्छ र ?’ उनले भने ‘यो समयमा सबैको साथबाटमात्रै हामीले कोरोना भगाउने भएकाले सुरक्षाकर्मीलाई साथ दिन कर्मचारी पुगेका हुन् ।’
लेटाङ २ वडा प्रवेश गर्ने नाकाहरूमा अहिले कडाइ चेकजाँच र प्रशासनले लागू गरेको निषेधाज्ञा पालना गराउन सुरक्षाकर्मी भन्दा धेरै सरकारी कर्मचारी छन् । ‘मास्क र स्यानिटाईजर साथमा हुन्छ, आफुहरु पनि सुरक्षित भएर सामाजिक दुरी कायम गर्दै खटिएका छन्,’ वडाध्यक्ष तिम्सिना भन्छन् ‘यसले सूरक्षा निकायलाई साथ मिलेको छ ।’
आइतबार लेटाङ २ को वडा कार्यलयमा सरोकारवालाहरुको बैठक बसेर वडा क्षेत्रमा रहेका सामुदायिक विद्यालयका शिक्षक र सहकारी संस्थाका कर्मचारीहरुलाई सोमबारबाट स्वयमसेवकको रुपमा परिचालन गर्ने निर्णाय भएको थियो । पहिले निर्णय नहुँदा पनि केही कर्मचारी खटिएका र अहिले निर्णय पछि ठुलो संख्यामा सरकारी कर्मचारी कडाईमा उत्रिएका हुन् ।
यसअघिसम्म वडामा रहेको बुधबारे प्रहरी चौकी र जनप्रतिनिधिहरुको सिमित जनशक्तिबाट २ वटा नाकाहरुमा ड्युटी गरि वडा सिल गरिएको थियो । अब थप दुई स्थानमा प्रहरी र स्वयम्सेवक सरकारी कर्मचारी परिचालन गरि सिललाई थप व्यवस्थापन गरिएको छ ।
विपदको समयमा नागरिकको रक्षाको लागि प्रत्येक नागरिकले योगदान गर्नुपर्ने कुरालाई मध्यनजर गर्दै पहिलो चरणमा सरकारी बिद्यालयका शिक्षक तथा सहकारी संस्थाका कर्मचारीलाई परिचालन गरिएको वडाध्यक्ष तिम्सिनाले बताउँछन् । वडामा हालसम्म ३६ जनामा कोरोना संक्रमण देखिएको छ । थप संक्रमण बढ्न नदिन वडालाई पुर्ण रुपमा सिल गरिएको उनले जानकारी दिए ।
संक्रमण बढन नदिन सरकारी बिद्यालय तथा सहकारीका कर्मचारीहरुले स्वतस्फुर्त स्वयम्सेवक बनेर लागिपरेका छन् । हाल लक्ष्मी माबी र हिमचुली प्राबिका शिक्षक तथा जनचाहना साकोसका कर्मचारीले प्रहरीलाई सहयोग गरिरहेका छन् ।
वडाका ३५ जनाभन्दा बढि कर्मचारीहरुले पालो सिस्टमबाट (बिहान ५ः०० बजेबाट साझ ६ः०० बजेसम्म) जेठ ११ गतेसम्म ४ वटा नाकाहरुमा स्वयम्सेवकको रुपमा प्रहरीलाई सहयोग गर्नेछन् । यसको लागि वडा कार्यलयबाट स्वास्थ्य सामग्री, परिचय कार्ड र दिवा खाजाको व्यवस्थापन हुनेछ । स्वयमसेवकहरुले नाकामा ड्युटीसँगै गाउँबस्तीमा संक्रमण मिल्दोजुल्दो लक्षण देखिएका नागरिकको विवरणसमेत वडा कार्यलयमा बुझाउने छन् ।