विराटनगर । विराटनगरस्थित कोसी कोभिड–१९ अस्पतालमा अक्सिजनका सिलिण्डर बोकेका गाडीको आउजाउ दिनभरी चल्छ । बिहानैदेखि अक्सिजन ढुवानी गर्ने गाडी आउने र राति अबेरसम्म त्यो क्रम जारी रहने अस्पतालका इञ्चार्ज बैजनाथ साह बताउँछन् ।
लक्षणसहितका संक्रमितको अस्पतालमा चाप बढ्दै जाँदा अक्सिजनको माग अत्याधिक बढेको छ । ‘बिरामीको संख्या बढेपछि अक्सिजनको माग स्वभाविक रुपमा बढ्छ । त्यसमा पनि कोसी कोभिड अस्पतालमा यतिबेला संवेदनशील प्रकृतिका बिरामीहरुको संख्या बढि छन् । जसले गर्दा अक्सिजनको खपत निकै बढेको हो,’ इञ्चार्ज साह बताउँछन् ।
कोसी कोभिड अस्पतालमा विरामीको संख्या सय नाघेको छ । उपचाररतमध्ये ३० जना आइसियूमा छन् भने ४७ जना एचडियूमा छन् । थप १५ बेड अक्सिजनयुक्तमा छन् । बाँकी भने अक्सिजन पाइपलाइन जडान नभएका जेनेरल प्रकृतिका बेडमा छन् । सबैलाई अक्सिजन आवस्यक छ ।
कोशी कोभिडले संक्रमित उपचारका लागि १ सय ८० शय्या सञ्चालनमा ल्याएको छ । आइसियू र एचडियूमा मात्र एक सय २ जना बिरामी उपचार गराइरहेका कारण उनीहरुलाई दैनिक ठूलो परिमाणमा अक्सिजन आपूर्ति गर्नुपरेको अस्पतालका इन्चार्ज साहले जानकारी दिए ।
कोसी कोभिड अस्पतालमा दैनिक ५०० सिलिण्डर अक्सिजन खपत भइरहेको इञ्चार्ज साहले बताए । ‘हरेक २४ घण्टामा ५०० सिलिण्डर अक्सिजन खपत भइरहेको छ,’ उनले भने ‘हाम्रोमा क्रिटिकल अवस्थाका बिरामी बढी छन्, अक्सिजनको सिलिण्डर ओसार्ने गाडी दिनभरजसो आउजाउ चलिरहन्छ ।’
अस्पतालमा आइसियू र एचडियूमा उपचार गराइरहेका बिरामीको संख्या धेरै भएकोले अक्सिजन बढी खपत भएको उनले बताए । अस्पतालले अक्सिजनका लागि मात्र दैनिक १ लाख ५० हजार रुपैयाँ खर्च गरिरहेको छ ।
यो अहिले सबैभन्दा बढी कोभिडका बिरामी राखिने अस्पतालमा अक्सिजन आपुर्तिको तथ्य हो । पछिल्लो समय दैनिक एक हजार संक्रमित प्रदेशमा थपिन थालेपछि अक्सिजनको माग ह्वातै बढेको छ । केही दिन अघि सम्म दुई नंबर प्रदेशसहित काठमाडौ सम्म अक्सिजन पठाउँदै आएको प्रदेश १ ले अब आफैलाई अक्सिजन पु¥याउन धाउ धाउ पर्न थालेको छ ।
प्रदेश सरकारले अक्सिजनको अभाव हुन नदिन प्रदेश १ बाट अन्यत्र अक्सिजन जान नदिने तयारी थालेको सामाजिक विकास मन्त्रालयले जनाएको छ । केहीदिन अघिसम्म तथ्यांक बिहिन देखिएको सामाजिक विकास मन्त्रालयले अहिले प्रदेश १ बाट अक्सिजन अन्य प्रदेशमा पठाउन नसकिने बताएको हो ।
सामाजिक विकास मन्त्रालयका सचिव गोबिन्दबहादुर कार्कीले प्रदेशमा अक्सिजनको अभाव हुने संभावनालाई आँकलन गर्दै प्रदेश १ बाट अन्यत्र अक्सिजन पठाउन नसकिने बताए ।
अक्सिजन सिलिण्डर नयाँ अहिले नभएको र पुराना सिसिण्डरले धान्न छाडेपछि समस्या सिर्जना भएको सचिव कार्कीको भनाई छ । ‘कोशी कोभिड अस्पतालमा अहिले पनि दैनिक पाँच सय सिलिण्डर अक्सिजन भरि चाहिन्छ,’ सचिव कार्कीले भने, ‘तीन वटा अक्सिजन कम्पनीसँग स्म्झौता गरिएकाले उनीहरुले पनि अन्यत्र पठाउन थाल्ने हो भने भोलिका दिनमा प्रदेशमा समस्या आउँछ ।’
प्रदेश १ मा ५ वटा अक्सिजन प्लान्ट रहेकोमा २ वटा ठूला प्लान्टहरुले अन्य प्रदेशहरुमा पठाउने गरेको उनको तर्क छ । संक्रमितको संख्या बढेसँगै कोभिड अस्पताल बढ्दै गएको, भएका अस्पतालले बेड बढाएको, बनाइएका बेडहरु अक्सिजन सहितको बेड हुने भएकोले प्रदेशमा नै अक्सिजनको अभाव हुन सक्ने भएकोले अब अन्य प्रदेशमा पठाउन नसकिने बताएका हुन् ।
सचिव कार्कीका अनुसार, अन्य प्रदेश, संघीय राजधानीबाट हवाईजहाज, गाडी मार्फत दुई ठुला उद्येगबाट अक्सिजन जाँदै आएको छ । ‘प्रदेश १ को अक्सिजन, काठमाडौँ, लुम्बीनी तथा डडेलधुरासम्म गएको छ,’ उनले भने, ‘यही मात्रामा बाहिर जाने हो भने प्रदेशका ठुला कोभिड अस्पतालहरु अप्ठेरोमा पर्न सक्छन् अब प्रदेश १ को अक्सिजन बाहिर पठाउन सक्ने अबस्था छैन ।’ उनले प्रदेश १ का ठूला अस्पतालमा करिब एक हजार सिलिण्डर अक्सिजन अभाव रहेको बताए ।