काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउने प्रस्तावमा नेकपा एमालेका सांसद योगेश कुमार भट्टराईले हस्ताक्षर गर्न अस्वीकार गरेका छन् ।
उनले आफ्नै दलको सरकार ढालेर विपक्षीलाई सत्तामा लैजाने प्रस्तावमा हस्ताक्षर गर्न राजनीतिक रुपमा अनुचित हुने भन्दै उक्त प्रस्तावमा हस्ताक्षर गर्न अस्वीकार गरेका हुन् ।
एमालेमा विवाद देखिएदेखि मिलाउने प्रयासमा लागिरहेका भट्टराईले देउवालाई प्रम बनाउने प्रस्तावमा हस्ताक्षर अस्वीकार गर्नुलाई अर्थपूर्ण रुपमा लिइएको छ । एमाले अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालबीच चलिरहेको विवाद मिलाउन पछिल्लो समय उनी खटिएका थिए ।
उनले ओली र नेपाल दुवैलाई भेटेर पार्टीको विवाद वार्तामा बसेर मिलाउन दबाब दिँदै आएका थिए। उनीसहितका दोस्रो तहका नेताहरुको निरन्तर दबाबपछि ओली–नेपाल वार्तामा बसेर सहमति जुटाउने बिन्दुमा पुगेका थिए ।