विराटनगर । विराटनगरको नोबेल शिक्षण अस्पतालमा कोरोना भाइरस संक्रमित १० जनाको एकै दिन मृत्यु भएको छ । पछिल्लो २४ घण्टाभित्र नोबेलको कोभिड वार्डमा मृत्यु भएका संक्रमितको संख्या अहिलेसम्मकै उच्च हो । मृत्यु हुनेमा ५० वर्षभन्दा कम उमेर समूहका पाँच जना रहेका छन् ।
नोबेल अस्पतालका प्रबन्धक नारायण दाहालका अनुसार शनिबार बिहान मोरङको पथरीशनिश्चरे नगरपालिका–४ का ३५ वर्षीय पुरुषको मृत्यु भयो । कोरोना पोजिटिभ देखिएपछि उनलाई उपचारका लागि वैशाख ३० गते अस्पताल भर्ना गरिएको दाहालले बताए ।
शनिबार बिहानको राति करिब १ बजेतिर झापा कनकाई नगरपालिकाका ५२ वर्षीय पुरुषको मृत्यु भएको छ । उनलाई शुक्रबार अस्पताल भर्ना गरिएको थियो ।
त्यस्तै सप्तरीको कन्चनरुप–१२ का ७० वर्षीय वृद्धको पनि शनिबार बिहान करिब १ बजेतिर मृत्यु भएको जानकारी दाहालले दिए । उनलाई जेठ २ गते नोबेलमा भर्ना गरिएको थियो ।
सुनसरीको इनरुवा–९ का ७५ वर्षीय वृद्ध पुरुषको शुक्रबार साँझ ७ बजे मृत्यु भएको छ । उनलाई सोही दिन बेलुका नोबेलमा भर्ना गरिएको थियो ।
मोरङको धनपालथान गाउँपालिका–६ की ३५ वर्षीया महिलाको शुक्रबार राति ९ बजेतिर मृत्यु भएको छ । उपचारका लागि भर्ना गरिएको केही बेरमै उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।
त्यस्तै महोत्तीकाको बर्दीबास– १ का ५१ वर्षीय पुरुष र बर्दीबास–५ का ६० वर्षीय पुरुषको पनि मृत्यु भएको छ । बर्दीबास १ का पुरुषलाई वैशाख २६ गते भर्ना गरिएको थियो । उनको शनिबार बिहान साढे ११ बजेतिर मृत्यु भएको प्रबन्धक दाहालले बताए । उनका अनुसार बिहीबार अस्पताल भर्ना गरिएका बर्दीबास –५ का पुरुषको बिहान १०स्४५ बजेतिर मृत्यु भएको छ ।
झापा भद्रपुरका ४० वर्षीय पुरुष, विराटनगर महानगरपालिका–५ का ४६ वर्षीय पुरुष र सुनसरीको रामधुनी नगरपालिका–३ का ३८ वर्षीय पुरुषको पनि उपचारकै क्रममा मृत्यु भएको दाहालले बताए ।