विराटनगर । ताप्लेजुङ फुङ्लिङ नगरपालीकाका स्थानीय आनन्द श्रेष्ठ कोरोना संक्रमण भएपछि होम आइसोलेसनमा नै बसे । अचानक स्वासप्रस्वासमा समस्या देखिएर अक्सिजनको मात्रा घट्न थाल्यो र सिम्रिक एयरको हेलिकोप्टरबाट आइतबार विराटनगर पु¥याईयो । समयमा हेलिकोप्टरले सेवा दिएपछि नोबेल अस्पातालमा उनको अहिले उपचार भइरहेको छ ।
केही दिन अघि मात्रै दुई जना संक्रमित महिलालाई हेलिकोप्टरबाटै उपचारका लागि जिल्लाबाट काठमाडौ लगियो । अझै धेरै संक्रमित होम आइसोलेसनमा बसेका छन् । सक्रिय संक्रमितको संख्या दैनिक थपिदो छ । जिल्लामानै हाल सम्म ९ जनाले कोरोनाकै कारण ज्यान गुमाए । हिमाली जिल्ला मध्ये सबैभन्दा धेरै ज्यान गुमाउनेको संख्या ताप्लेजुङमा छ । केहीले एम्बुलेन्समा जिल्ला बाहिर जाँदा जाँदै ज्यान गुमाए भने केहीले होम आइसोलेसनमानै ज्यान गुमाएको ताप्लेजुङमा प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे बताउँछन् ।
जिल्लामा भरपर्दौ उपचार सेवा र स्वास्थ्यकर्मी नहुनु, अक्सिजन, आईसीयू, भेण्टिलेटर नहुनुनै समयमा उपचार नपाउनुको मुख्य कारण हो । नजिकैको जिल्लामा समेत यी सुविधाका अस्पताल नहुँदा झापा, विराटनगर, धरान वा काठमाडौनै पु¥याउनु पर्ने बाध्यता जिल्लाबासीमा अझै छ ।
ताप्लेजुङको यो प्रतिनिधि उदाहरण मात्रै हो । कोरोना संक्रमणको नयाँ ‘भेरियन्ट’ ले अहिले प्रदेश १ का पहाडी र हिमाली जिल्लालाई समेत ढाकेको छ । जसको कारण समयमा उपचार सेवा नपाउँदा यस क्षेत्रका नागरिकले अकालमा ज्यान गुमाईरहेका छन् । गाउँ गाउँ सम्म संक्रमण फैलिएको र संक्रमितको समयमा पहिचान गरेर उपचार गराउन नसक्दा समस्या झनै जटिल बन्दै गएको छ ।
ताराईका जिल्लामा समेत कोरोना संक्रमितको संख्या धेरै हुँदा र पहाडी जिल्लामा भरपर्दो उपचार नहुँदा अस्पतालमा बेड र समयमा उपचार पाउन प्रदेश १ का पहाडी र हिमाली जिल्लाका नागरिकलाई फलामको चिउरा चपाउनु सरह छ । ‘एक त समयमा कोरोनाको परीक्षण हुँदैन, भएर संक्रमण पुष्टि भए उपचारका लागि जिल्लामा सुविधा छैन, जिल्ला बाहिरको अवस्था झनै बेहाल छ,’ ताप्लेजुङ फुङ्लिङका स्थानीय सजन पौडेल भन्छन् ‘यो समय जिल्ला बाहिर जाँने र आईसियुमा बेड पाउँदा पनि भाग्यमानी सम्झनु पर्छ ।’
झापाको बिर्तामोडमा रहेको बीएण्डसी, भद्रपुरको मेची, विराटनगरका नोबेल, विराट नपर्सिङहाम र धरानको घोपामा दैनिक पहाडी जिल्लाबाट आउने लक्षणसहितका जटिल कोभिड विरामीको संख्या थपिदो छ । प्रदेश सरकारलेनै विराटनगरमा स्थापना गरेको कोभिड अस्पतालका बेड भरिएका छन् । यहाँ निशुल्क उपचार हुने हुँदा पहाडी र हिमाली जिल्लाबाट पनि ठुलो संख्यामा संक्रमित उपचररत छन् । तराईका बाहेका जिल्लाका संक्रमित गम्भिर अवस्थामा आउने भएकाले सघन उपचार तथा भेन्टिलेटरमा राखेर उपचार गर्नुपर्दा विराटनगर र धरान सम्म धाउनुपर्ने उनिहरुको बाध्यता छ ।
पहाडी जिल्ला पाँचथर र इलामले भेण्टिलेटरसहितका न्यूनतम बेड सम्मका कोभिड अस्पताल पनि सञ्चालन गरे । तर, ती अस्पतालले अहिले विरामीलाई थेग्न छाडेको छ । संखुवासभा, भोजपुर, तेह्रथुम, सोलुखुम्बु, खोटाङ, धनकुटा, उदयपुर र ओखलढुङ्गामा पनि सक्रिय संक्रमित थपिदै छन् । संक्रमितमा लक्षणसहित स्वासप्रश्वासमा गम्भिर समस्या देखिने भएकाले सबैले तराईका जिल्लामा रहेका ठुला अस्पतालकै भर पर्नुपर्ने बाध्यता छ ।
जिल्लामानै केही स्वास्थ्य उपकरणसहित अस्पतालको सुरुवात गर्दा समेत सञ्चालनमा समस्या हुँदा संक्रमित आफ्नो जिल्लामा उपकरण हेरेर मात्रै फर्कनु पर्छ । जिल्ला अस्पताल इलाममा दुईवटा भेन्टिलेटर आए पनि चलाउन नसकिएको अस्पतालका प्रमुख डाक्टर प्रभु शाहले बताउँछन् । ‘हामीसँग ती उपकरण चलाउने तालिमप्राप्त जनशक्ति नै छैन,’ उनले भने ‘भेन्टिलेटर आवस्यक पर्ने बिरामीलाई जिल्ला बाहिर रेफर गछौँ ।’
संखुवासभाको चैनपुर नगरपालिकाको स्वास्थ्य शाखाका प्रमुख नरबहादुर श्रेष्ठका अनुसार पहाडका कोभिडका बिरामीलाई छ देखि आठ घण्टासम्म लगाएर धरान वा विराटनगर पु¥याउनुपर्ने बाध्यता अझै टरेको छैन । ‘पु¥याएर मात्र पनि हुँदैन, बेड खोज्न यति गाह्रो हुन्छ कि भनेर साध्य छैन ।’ कोभिडका बिरामीलाई उपचारका लागि सुनसरी, मोरङ र झापाबाहेक प्रदेश १ का सबै जिल्लामा पूर्वाधार तथा जनशक्ति नहुँदा सकस बेहोर्नु परेको ती जिल्लाका स्वास्थ्यकर्मी तथा स्थानीय तहका जनप्रतिनिधि बताउँछन् ।
पहिलो चरणको कोरोना लहरमा पहाडी र हिमाली जिल्ला धेरै सुरक्षित थिए । दोस्रो लहरमा सबै जिल्लामा धेरै संक्रमित हुँदा यस क्षेत्रका स्वास्थ्यकर्मीनै अतालिएका छन् । समयमा व्यवस्थापन गर्न नसक्दा हिमाली र पहाडी जिल्लाले कोरोनाको असर सोचे भन्दा धेरै भोगिरहेका छन् । तराईका बाहेक जिल्लामा स्वास्थ्यकर्मीसहित अस्पतालको समयमा व्यवस्थापन गर्न नसकेको सामाजिक विकास मन्त्री उषाकला राई स्विकार गर्छिन् । ‘पहाडलाई यति धेरै प्रभाव पार्छ भन्ने कुरा सोचिएन’ उनले भनिन्, ‘अब अहिले आएर परीक्षण तथा उपचारका लागि संरचनामा लगानी गरौँ न भन्दा ती संरचना सञ्चालन गर्ने जनशक्ति कहाँबाट ल्याउनु ?’
स्वाबको पीसीआर रिपोर्ट ७ दिनमा !
बैसाख ३० गते पीसीआर परीक्षणका लागि स्वाब दिएका ताप्लेजुङ फुङ्लिङका पासाङरिता शेर्पाको रीपोर्ट जेठ ५ गते आयो, त्यो पनि पोजेटिभ । आफु सात दिन अघि नै पोजेटिभ भएको सात दिन पछि थाहा पाएका उनी बल्ल आफ्नो अझै ख्याल गर्न थाले । अहिले पनि उनि होम हाइसोलेसनमा बसेका छन् ।
‘समयमा रीपोर्ट नआउँदा मानसिक तनाब हुने रहेछ,’ उनले भने ‘छिटोमा ताप्लेजुङमा ५ दिनमा र ढिलोमा १० दिनमा पनि रिपोर्ट आउने गरेको छ, यसले झनै संक्रमित बढ्ने समस्या सृजना भएको छ ।’ ताप्लेजुङमा स्वाब संकलन गरेको अधिकाँस रीपोर्ट छिटोमा पाँच दिनमा आउने गरेको प्रमुख जिल्ला अधिकारी उमेश पाण्डे बताउँछन् । ‘जिल्लामानै पीसीआर परीक्षण हुँदैन, झापा अथवा विराटनगरनै लैजनु पर्ने र त्यहाँ पनि स्वाबको लाईनमा राख्नुपर्ने भएकाले ढिला आएको हो’ उनले भने ।
प्रदेश १ का झापा, सुनसरी र मोरङ बाहेकका जिल्लामा पीसीआर ल्याव छैन । मोरङको विराटनगरमा नीजि समेत ल्याव भए पनि अन्य जिल्लामा पीसीआरका लागि स्वाब संकलन गरेर बाहिरनै पठाउनु पर्छ । पछिल्लो समय एन्टिजेन परीक्षण बिधि आएर केही सहज भए पनि किट अभावले त्यो पनि सहजै गर्ने अवस्था सबै तिर नरहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।