ताप्लेजुङ । हिमाली तथा पहाडी जिल्लाका अस्पतालमा अक्सिजन प्लान्ट स्थापनाका लागि सरकारले बजेट विनियोजन गरेको बताए पनि अस्पतालले आर्थिक वर्षभित्रै प्लान्ट स्थापना गर्न नसक्ने जनाएका छन् ।
ताप्लेजुङ जिल्ला अस्पतालका प्रमुख डाक्टर सोनिम लामा अहिलेसम्म बजेटको सुनिश्चितता नभएको, मन्त्रालयले दररेट नदिएको र टेन्डर गर्ने समय नभएको बताउँछन् । अर्थ मन्त्रालयले जेठ ६ गते जारी गरेको सूचनामा ताप्लेजुङ अस्पतालसहित १३ वटा अस्पतालमा प्लान्ट स्थापनाका लागि १७ करोड ८७ लाख ७० हजार रुपैयाँ विनियोजन गरिएको उल्लेख छ । ताप्लेजुङका लागि ७५ लाख रुपैयाँ दिने निर्णय भएको छ ।
अर्थ मन्त्रालयको पत्र संख्या ३७०–०२–२० को चलानी नम्बर २३२४ मा जेठ ६ गते नै अर्थ मन्त्रालयले बजेटको सहमति दिएको उल्लेख छ । जिल्ला अस्पतालले भने झन्डै एक महिनापछि प्लान्ट स्थापना गर्न नसकिने बताउन थालेका हुन् । प्लान्ट स्थापना हुन नसक्ने विषय आफूले भर्खरमात्रै थाहा पाएको अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति अध्यक्ष घनेन्द्र मादेन बताउँछन् ।
सरकारले प्रत्येक अस्पतालमा ‘अस्पताल सञ्चालन तथा व्यवस्थापन समिति’ गठन गरेको छ । जिल्ला समन्वय समितिका संयोजकको अध्यक्षतामा हुने समितिमा अस्पताल रहेको नगरपालिकाको प्रमुख, प्रदेशको सामाजिक विकास मन्त्रालयले छनोट गरेका ५ जना र अन्य सरोकारवाला निकायका प्रमुख सदस्य हुने व्यवस्था छ । जिल्ला अस्पतालको खातामा रकम हालिदिए प्रक्रिया सुरु गर्न सजिलो हुने मादेन बताउँछन् । कान्तिपुर