Lite Nepal

आइतबार, साउन ०८, २०७९

ताप्लेजुङ – तीन वर्षअघि पहिरो झरेर करिब एक साता सडक अवरुद्ध भएको मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ स्थित पाङ्ग्रेभिर खण्ड वर्षा हुँदा जोखिमपूर्ण बन्ने गरेको छ ।

राजमार्गभन्दा माथि जमिनको ठूलो भाग भत्किएर सडकभन्दा माथि थुप्रो लागेको छ । पहिरो झरेका समय सडकभन्दा माथिको जमिनको केही हिस्सामात्रै सडक पार गरेर बगेको थियो । भत्किएको जमिनको बाँकी भाग व्यस्त सडकको माथिपट्टि रहँदा सवारी सञ्चालन जोखिमपूर्ण बनेको हो । निरन्तर वर्षा हुँदा लेदोसहित ढुङ्गा–माटो झर्ने गरेकाले सडक जोखिमपूर्ण बनेको सवारी चालकहरूले बताएका छन् । शुक्रबारमात्रै लेदोसहित ढुङ्गा–माटो सडकमा खस्दा मेची राजमार्ग केही समय अवरुद्ध भएको थियो ।

पानी पर्नेबित्तिकै लेदोसहित साना–तिना ढुङ्गा र माटो सडकमा खस्ने गरेको छ । तीन वर्षअघि साउन पहिलो साता पहिरो झरेपछि भत्किएको सडकमा अहिले ठुल्ठूला खाल्डा परेका छन् । भत्किएको सडकमा सुस्तरी सवारी चलाउनुपर्ने यहाँ माथिबाट ढुङ्गा–माटो खस्ने क्रमले जोखिम बढाएको हो । भत्किएको जमिनको सबै भाग पहिरो बनेर नखस्ने र जोखिमसमेत उत्तिकै हुने भएपछि सडक डिभिजन कार्यालय इलामले सडकको भित्तामा जालीसहितको पर्खाल लगाएको थियो । तर क्रमशः पहिरो झर्ने क्रमले पर्खाल छिचोलेर सडकसम्म ढुङ्गा–माटो खस्दा यो सडकखण्ड जोखिमपूर्ण बनेको हो ।

शुक्रबार सडक अवरुद्ध बनेका समय उक्त स्थान पुग्नुभएका स्थानीयवासीसमेत रहनुभएका संविधानसभा सदस्य अइन्द्रसुन्दर नेम्वाङले उक्त खण्ड पानी परेका समयमा जोखिमपूर्ण बन्ने गरेको बताउनुभयो । “सबै यात्रुले ध्यान पु¥याएरमात्रै यात्रा गर्नुपर्ने अवस्था छ”, उहाँले भन्नुभयो । पहिरो झरेर जोखिम हुनसक्ने तथा सडक अवरुद्ध हुन जाने अवस्थालाई ध्यान दिँदै सडक डिभिजन कार्यालय इलामले एउटा स्काभेटर उक्त स्थानमा तैनाथ अवस्थामा राखेको छ ।

तीन वर्षअघि ठूलो पहिरो झरेर लामो समयसम्म सडक अवरुद्ध बनेपछि मेची राजमार्गको फाल्गुनन्द गाउँपालिका–३ गुम्बाडाँडाबाट फाल्गुनन्द–४ राँके बजारसम्म वैकल्पिक मार्ग निर्माण थालिएको थियो । गुम्बाडाँडाबाट निबुखोला हुँदै राँके जोड्ने उक्त मोटरबाटोको ट्र्याक खोल्ने कार्य पूरा भएपछि बजेट अभावका कारण काम रोकिएको छ । मेची राजमार्ग अवरुद्ध बनेको समयमा बजेटको प्रबन्ध गरी ट्र्याक खोल्न थालिएता पनि राजमार्ग सञ्चालन भएपछि वैकल्पिक मार्गको स्तरोन्नतिकार्यलाई सरोकारवालाले भुलेको स्थानीयवासीको गुनासो छ । वैकल्पिक मार्गमा सवारी सञ्चालन सम्भव नभएपछि साना तथा ठूला सवारीका साधन जोखिम मोलेर मेची राजमार्गबाटै सञ्चालन भइरहेका छन् ।

मेची राममार्गको यस खण्डमा विगतमा पहिराको ठूलो समस्या थिएन । तर राजमार्गकै मर्मतका लागि भन्दै पाङ्ग्रेभिरमा स्काभेटर प्रयोग गरी सडकको भित्ताबाट ढुङ्गा निकालिएको थियो । सडकको भित्तामा रहेका स–साना ढुङ्गा उत्खनन गर्ने भन्दै भित्तामा रहेको पहरो भत्काइएपछि सडकभन्दा माथि रहेको जमिनको ठूलो भाग लच्किएर भत्किइ पहिरो गएको थियो ।

निर्माण व्यवसायीले यहाँबाट ढुङ्गा उत्खनन गरी आफ्नो निजी व्यवसायमा प्रयोग गरे पनि सरकारी निकायले कुनै कारबाही गरेन । अवैधरूपमा राजमार्गको भित्ताबाट ढुङ्गा उत्खनन गरिएको विषयमा निर्माण व्यवसायीलाई कारबाही गर्नुको सट्टा तत्कालीन जिल्ला समन्वय समिति र जिल्ला प्रशासन कार्यालयको नेतृत्व एकअर्काको क्षेत्राधिकारको विषय भएको भन्दै पन्छिएपछि निर्माण व्यवसायीले उन्मुक्ति पाएका थिए । मेची राजमार्गको यस खण्डका लागि ‘सधैँको समस्या’का रुपमा पाङ्ग्रेभिरको पहिरो देखिए पनि सरोकारवाला निकायले वैकल्पिक मार्ग तयार पार्न तदारुकता नदेखाएको स्थानीयवासीको गुनासो छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ भने प्रदेश १ को राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा