विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले विपद्को जोखिम न्यूनीकरणका लागि गर्नुपर्ने कामलाई संस्थागत रूपमा दिगो र परिणाममुखी बनाउन प्रदेश सरकारले योजनावद्ध काम गर्ने बताएका छन् ।
आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै मुख्यमन्त्री कार्कीले विपद् जोखिम न्यूनीकरणका लागि दिगो विकास लक्ष्यहरू तथा पेरिस सम्झौता लगायतका अन्तर्राष्ट्रिय सन्धिहरुले तय गरेका प्राथमिकता र लक्ष्यहरूलाई आधारमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरे ।
भूकम्प र अन्य प्राकृतिक विपत्तिबाट सुरक्षित रहन समुदायलाई सचेत बनाउँदै अब फेरि विगतको जस्तो जनधनको क्षति हुन नदिन पूर्व तयारीका लागि सबैले सार्थक प्रयत्न र संकल्प गर्नुपर्ने जरुरी रहेको भन्दै मुख्यमन्त्री कार्कीले भने, ‘आजको दिन भविष्यमा आउन सक्ने भूकम्प लगायतका सबै प्रकारका विपद्का कारणले हुनसक्ने जनधनको क्षति न्यूनीकरण गर्न सबैलाई एकढिक्का भएर लागि पर्न आह्वान गर्दछु ।’
भूकम्प सुरक्षा दिवसको अवसरमा विपद् व्यवस्थापनको क्षेत्रमा कार्यरत सबै व्यक्ति, संघसंस्था, निकाय, समुदायलगायत सबैमा आपसी सहयोग, भाइचारा र सहकार्यका साथ विपद्को सामना र क्षति न्यूनिकरणका लागि जनचेतना जगाउन प्रभावकारी रुपमा काम गर्नसमेत उनले आग्रह गरे ।
आज २७ औं राष्ट्रिय भूकम्प सुरक्षा दिवस,’भूकम्पले सिकाएको पाठ, बलियो संरचना र सुदृढ पूर्वतयारीका साथ’ भन्ने नाराका साथ मनाइँदै छ ।