काठमाडौं । याला हिमनदी खुम्चिँदै गइरहेको छ । सन् २०४० को दशकसम्ममा यो पूरै गायब हुनसक्ने भनिएको छ । ग्लोबल ग्लेसियर कजल्टी लिष्टमा समावेश भएको यो सम्पूर्ण हिमालयको एक मात्रै हिमनदी हो ।
ग्लोबल ग्लेसियर कजल्टी लिष्ट राइस युनिभर्सिटी, युनिभर्सिटी अफ आइसल्यान्ड, विश्व मौसम सङ्गठन (डब्ल्यूएमओ), विश्व हिमनदी निगरानी सेवा र युनेस्के मिलेर २०२४ मा सुरु गरेका परियोजना हो ।
यो निगरानी सुरु भएयता हिमनदीको क्षेत्र र आयतन दुवैमा व्यापक कमी आएको छ । सन् १८७४ देखि सन् २०२१ को बिचमा यो ६८० मिटरले खुम्चिएको थियो ।
हिमनदी फैलिएको क्षेत्र पनि ३६ प्रतिशतले खुम्चिसकेको छ । यही गतिमा खुम्चँदै जाने हो भने सन् २०४० को दशकसम्ममा यो पूरै गायब हुनसक्ने बताइएको छ । हिमनदीको क्षेत्र र आयतनमा उल्लेख्य परिवर्तन आइरहेकोले यसलाई सूचीमा राखेर नियालिरहनुको कुनै उद्देश्य पनि नरहने आईसीमोडमा एक अनुसन्धानकर्ता शरद जोशीले भनेका छन् ।
हिन्दुकुश हिमालय क्षेत्रमा रहेको केही हिमनदीमध्ये यो एक थियो । पाँच दशकयता रेकर्ड राख्न थालेयता २०२३ मा याला हिमनदीले आफ्नो ठुलो क्षेत्र र आयतन गुमायो । यस्तो भएको यो लगातार दोस्रो वर्ष भएको डब्ल्यूएमओ र युनेस्कोका वैज्ञानिकहरूले भनेका छन् ।
विश्वको तापमान जुन गतिमा बढिरहेको छ त्यसको दोब्बर गतिमा हिन्दु कुश हिमालय क्षेत्र तातो भइरहेको आईसीमोडकी निरा प्रधानले भनेकी छिन् । ग्लोबल ग्लेसियर कजल्टी लिष्टमा जम्मा १५ हिमनदी सूचीकृत छन् । यो सूचीमा परेका हिमनदी हालै गायब बनेको उदाहरण दिनुपर्दा प्रधानले फ्रान्सको सारेन्ने र भेनेजुएलाको पिको हम्बोल्ड्टको नाम लिएकी थिइन् ।
नेपालको याला हिमनदी पनि अति नै संकटापन्न सूचिमा रहेको उनले बताइन् । चीनको दागु हिमनदी पनि अति नै सङ्कटापन्नको सूचीमा रहेको छ । यो हिमनदी २०३० सम्ममा गायब हुन सक्ने बताइएको छ ।