Lite Nepal

आइतबार, माघ १२, २०८१

ताप्लेजुङ । ताप्लेजुङको पाथीभरा क्षेत्रमा पहिचान पक्षधरले प्रहरीमाथि ढुंगा र गुलेली प्रहार गरेपछि भएको झडपमा ५ आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी घाइते भएका छन् ।

प्रहरीले स्थिती नियन्त्रणमा लिन शनिबार दिउँसो अश्रुग्यास प्रहार गरेको थियो भने, साँझ गोली चलाउनु नै पर्ने अवस्था आइएको कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले जानकारी दिए ।

झडपका क्रममा प्रहरीले हानेको गोली ४ जनालाई लागेको पहिचान पक्षधरको दाबी छ । उनीहरुका अनुसार गोली लागेकामध्ये ३ जनाको अवस्था गम्भीर रहेको छ । १ जना भने अश्रुग्यास प्रहार गर्दा घाइते भएका हुन् ।

पाथीभरा क्षेत्रको काफ्लेपाटीभन्दा करिब १ किलोमिटर माथि पहिचान पक्षधरको ‘नो केबलकार’ समूह तथा प्रहरीबीच शनिबार दिउँसो र साँझ दुईपटक झडप भएको हो ।

साँझ स्थिति भड्किन थालेपछि गोली नै चलाउनु परेको प्रहरीले जनाएको छ । दिउँसो ४ बजेतिर झडप हुँदा ३ जना सशस्त्र प्रहरी र आन्दोलनरत पक्षका १ जना घाइते भएका थिए । थप घाइते साँझ ६ बजेतिरको झडपमा भएका हुन् ।

कोशी प्रदेशका प्रहरी प्रमुख डीआईजी राजन अधिकारीले आन्दोलनकारीतर्फ ५ जना र सुरक्षाकर्मीतर्फ २१ जना घाइते भएको जानकारी दिए । ‘घाइतेमध्ये २ जना अन्दोलनकारीलाई गोली लागेजस्तो चोट छ । माहोल नियन्त्रण बाहिर जाने अवस्था बनेपछि प्रहरीले हवाईफायर गरेको हो,’ उनले भने ।

अधिकारीका अनुसार घाइते सुरक्षाकर्मीमध्ये नेपाल प्रहरीका १२ र सशस्त्र प्रहरीका ९ जना छन् । इन्स्पेक्टरसहित घाइते भएको उनले बताए । प्रहरीको गोली लागेर तेह्रथुमको म्याङलुङ नगरपालिका–९ का यामबहादुर लिम्बू, पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का मंगल लावती, सगुन लावती र ताप्लेजुङको फुङलिङ नगरपालिका–८ का धर्म पालुङ्वा घाइते भएका छन् ।

घाइतेमध्ये ३ जनालाई थप उपचारका लागि आइतबार बिहान विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको छ । यामबहादुर, सगुन र धर्मलाई थप उपचारका लागि विराटनगर ल्याइएको हो । त्यसअघि जिल्ला अस्पताल ताप्लेजुङमै उपचार गराइएको थियो । सामान्य अवस्थाका मंगल डिस्चार्ज भइसकेका छन् ।

घाइतेहरुको स्वास्थ्य अवस्थाका बारेमा जानकारी लिन डीआईजी अधिकारी आफैं नोबेल अस्पताल जाँदैछन् । ‘२ जनालाई गोली लागेजस्तो देखिने चोट छ । १ जनालाई चैं गोली लागेजस्तो देखिँदैन । तर, सबै घाइते बोल्न सक्ने अवस्थामा छन्भन्ने जानकारी छ,’ उनले भने ।

पाथीभरा माता केबलकार कम्पनीले पाथीभरा क्षेत्रमा केबलकार निर्माण प्रक्रिया अघि बढाएको छ । त्यसको विरोध गर्दै पहिचान पक्षधरले मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समितिलगायतका समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । कम्पनीले मंगलबारदेखि केबलकार निर्माणस्थलमा जमिन सम्याउन थालेको थियो ।

त्यसपछि आन्दोलनकारीहरु पाथीभरा केन्द्रित भएर विरोध गरिरहेका छन् । आन्दोलनकारीले केबलकार निर्माणको काममा अवरोधको प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको प्रहरीको भनाइ छ । आन्दोलनकारीले हतियार लुकाएर राखेको सूचना प्रहरीले पाएको थियो । हतियारको खोजीका लागि गएको सुरक्षाकर्मीको टोलीलाई माथिबाट ढुंगा र गुलेलीले हानिएको प्रहरीको भनाइ छ ।

आन्दोलनकारीबाट खुकुरी, गुलेलीलगायत बरामद भएको डीआईजी अधिकारीले बताए । उनका अनुसार सुरक्षाकर्मी लक्षित आक्रमण हुन थालेपछि सुरुमा अश्रुग्यास हानिएको थियो । आन्दोलनकारी झन् आक्रामक बनेपछि गोली चलाउनु परेको दाबी प्रहरीको छ ।

पाथीभरा मन्दिर क्षेत्रको फुङलिङ नगरपालिका–१० काफ्लेपाटीदेखि मन्दिरनजिकसम्म २.७ किलोमिटर केबलकार बनाउन काम सुरु भएको छ । पाथीभरा मुक्कुमलुङ केबलकार प्रा.लिले फुङलिङ नगरपालिकाबाट निर्माण अनुमति लिएर काम सुरु गरेको छ । केबलकारको लागत अनुमान करिब ३ अर्ब रूपैयाँ छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा