Lite Nepal

आइतबार, माघ १२, २०८१

ताप्लेजुङ । हिउँ चितुवा संरक्षणका लागि विद्यालयस्तरबाटै थालिएको पहल प्रभावकारी भएको छ । ‘स्नो लेपर्ड कन्सर्भेन्सी’ टेका समूह नेपालको आर्थिक तथा प्रविधिक सहयोग र हिमाली संरक्षण मञ्चको सहजीकरणमा हिउँ चितुवा संरक्षण अभियान सुरु गरिएको छ ।

विसं २०७८ देखि जिल्लाका विभिन्न विद्यालयमा हिउँ चितुवा संरक्षणसम्बन्धी शिक्षा प्रदान गर्न थालिएको हिमाली संरक्षण मञ्चका कार्यक्रम संयोजक रमेश राईले जानकारी दिए। उनका अनुसार हाल जिल्लामा ‘हिउँ चितुवा संरक्षण शिक्षा सन्दर्भ’ पाठ्यपुस्तक भाग–१, २, र ३ का माध्यमबाट अध्ययन हुँदैछ ।

हिमाली क्षेत्रका विद्यालयमा हिउँ चितुवाका विषयमा अध्ययन हुँदै आएको छ । फक्ताङलुङ गाउँपालिकाको घुन्सा आधारभूत विद्यालय, सरस्वती माध्यमिक विद्यालय र रविकला माध्यमिक विद्यालयमा यो अध्ययनलाई विशेष प्राथमिकता दिइएको छ । यस्तै, मिक्वाखोला गाउँपालिकाको साँवा माध्यमिक विद्यालय र बालदेन माध्यमिक विद्यालयका कक्षा ६ देखि ८ सम्मका विद्यार्थीलाई पनि हिउँ चितुवा संरक्षणसम्बन्धी शिक्षा प्रदान गरिँदै आएको छ । सिरिजङ्घा गाउँपालिकाको सरस्वती माविलाई समेत समेट्दै ताप्लेजुङका छवटा विद्यालयमा हाल तीन सय ७८ विद्यार्थीले हिउँ चितुवाका विषयमा अध्ययन गर्दै आएका छन् ।

हिमाली संरक्षण मञ्चको सहजीकरणमा यहाँ हिउँ चितुवा संरक्षणका लागि विभिन्न कार्यक्रम सञ्चालन भइरहेको छ । नेचर टुर, रेडियो कार्यक्रम उत्पादन तथा प्रसारण र हिउँ चितुवा प्रकृति भ्रमणजस्ता कार्यक्रममार्फत विद्यार्थी र समुदायलाई संरक्षणप्रति जागरूक कार्यक्रम गर्दै आएको कार्यक्रम संयोजक राईले बताए । राईका अनुसार समुदायसँग चिया–कफीका कार्यक्रम आयोजना गर्दै हिउँ चितुवाको महत्त्वबारे छलफल गरिँदै आएको छ । प्रत्येक वर्ष कात्तिक ७ गते अन्तर्राष्ट्रिय हिउँ चितुवा दिवसका अवसरमा विशेष कार्यक्रम आयोजना गरिन्छ । यस दिन विद्यार्थी र समुदायलाई लक्षित गरी विविध क्रियाकलाप सञ्चालन हुने गर्छ ।

फक्ताङलुङ गाउँपालिकाका अध्यक्ष राजन लिम्बूका अनुसार विद्यालयस्तरबाटै संरक्षण शिक्षाको थालनी हुनु जैविक विविधता जोगाउनका लागि अत्यन्त सकारात्मक कार्यक्रम भएको छ । फक्ताङलुङ बालबालिकामा प्रकृति र वन्यजन्तुप्रतिको सद्भाव र संरक्षणको भावना विकास गर्न मद्दत पुर्याएको गाउँपालिका–५ का वडाध्यक्ष देउप्रसाद ताप्मादेनले बताए ।

हिमाली संरक्षण मञ्चका सचिव विवस केदेमका अनुसार संरक्षण अभियानमा समुदायको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न विभिन्न गतिविधि सञ्चालन गरिएका छन् । हिमाली क्षेत्रका स्थानीय बासिन्दासँग हिमचितुवाको विषयमा खुला छलफल गर्न चिया–कफीका कार्यक्रम प्रभावकारी हुँदै आएको केदेमले बताउनुभयो । यस्तै विद्यालयमा नेचर टूरको आयोजना गरेर विद्यार्थीलाई प्रत्यक्ष रूपमा जैविक विविधताको अवलोकन गराइन्छ ।

विद्यालयस्तरबाटै विद्यार्थी र समुदायमा हिउँ चितुवा र बासस्थानको महत्वबारे चेतना फैलाउने काम भइरहेको हिमाली संरक्षण मञ्चले जनाएको छ । हिमाली पारिस्थितिक प्रणालीलाई सन्तुलित राख्दै जैविक विविधताको संरक्षण गर्ने कायम भइरहेको छ ।

विद्यार्थीहरूमा सुरुदेखि नै संरक्षणको भावना विकास गरेमा भविष्यमा संरक्षणका चुनौतीसँग सामना गर्न सजिलो हुने सरोकारवालाको भनाइ छ । यसले हिमाली क्षेत्रमा जैविक विविधता संरक्षणमा टेवा पुग्ने छ । – रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा