विराटनगर । ताप्लेजुङको पाथीभरा मन्दिर क्षेत्रमा झडपमा परेर घाइते भएकालाई थप उपचारका लागि आइतबार काठमाडौं लगिएको छ ।
झडपमा आन्दोलनकारी र सुरक्षाकर्मी गरेर २६ जना घाइते भएका थिए । तीमध्ये ३ जनालाई थप उपचारका लागि आइतबार बिहान मात्रै विराटनगरको नोबेल शिक्षण अस्पताल ल्याइएको थियो । नोबेलबाट थप उपचारका लागि काठमाडौं पठाएको मोरङका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादवले बताए ।
उनका अनुसार तेह्रथुमको म्याङलुङ नगरपालिका–९ का यामबहादुर लिम्बू, पाँचथरको मिक्लाजुङ गाउँपालिका–५ का सुगन लावती र ताप्लेजुङको फुङलिङ नगरपालिका–८ का धर्म पालुङ्वालाई थप उपचाका लागि काठमाडौं पठाइएको छ । नेपाली सेनाको स्काई ट्रकमार्फत काठमाडौं पठाइएको प्रजिअ यादवले बताए ।
घाइतेमध्ये सगुन र यामबहादुरलाई गोली लागेको हो । सगुनको छात्तीमा र यामबहादुरको तिघ्रामा गोलीले लागेको पाइएको जानकारी यादवले दिए । उनका अनुसार धर्मको कुमको हड्डी भाँचिएको छ ।
ताप्लेजुङको फुङलिङ नगरपालिका–११ बलुडाँडास्थित पाथीभरा क्षेत्रमा पहिचान पक्षधर र प्रहरीबीच शनिबार २ पटक झडप भएको थियो । झडपमा ५ जना आन्दोलनकारी र २१ जना सुरक्षाकर्मी घाइते भएको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ ।
पाथीभरा क्षेत्रको काफ्लेपाटीभन्दा करिब १ किलोमिटर माथि पहिचान पक्षधरको ‘नो केबलकार’ समूह तथा प्रहरीबीच शनिबार दिउँसो ४ बजेतिर र साँझ ६ बजेतिर झडप भएको हो । दिउँसो अश्रुग्यास प्रहार गरेर स्थिति नियन्त्रणमा लिएको प्रहरीले साँझ भने गोली नै चलाएको थियो ।
पाथीभरा माता केबलकार कम्पनीले पाथीभरा क्षेत्रमा केबलकार निर्माण प्रक्रिया अघि बढाएपछि विरोध गर्दै पहिचान पक्षधरले मुक्कुमलुङ संघर्ष समिति, केबलकार खारेजी संघर्ष समितिलगायतका समिति गठन गरेर आन्दोलन गर्दै आएका छन् । आन्दोलनकारीले केबलकार निर्माणको काममा अवरोधको प्रयास गरेपछि स्थिति तनावपूर्ण बनेको प्रहरीको भनाइ छ ।
आन्दोलनकारीले हतियार लुकाएर राखेको सूचना प्रहरीले पाएको थियो । हतियारको खोजीका लागि गएको सुरक्षाकर्मीको टोलीलाई माथिबाट ढुंगा र गुलेलीले हानिएपछि आत्मरक्षाका लागि गोली चलाउनु परेको प्रहरीको भनाइ छ । आन्दोलनकारीबाट प्रहरीले खुकुरी, गुलेलीलगायत बरामद गरेको छ ।