ताप्लेजुङ । ताप्लेजुङको फुङलिङ नगरपालिकाका मेयर अमिर मादेनले नगर क्षेत्रमा बन्द हड्ताल गर्न नपाउने निर्णय यस अघि नै नगर कार्यपालिकाले गरेको भन्दै बन्द फिर्ता लिएर वार्ताबाट समस्या समाधानको बाटो खोज्न आन्दोलनरत पक्षलाई आग्रह गरेका छन् ।
पाथीभरामा निर्माण भइरहेको केबलकारको विषयमा आन्दोलन गरिरहेका समुहलाई मङ्गलबार एक विज्ञप्ति मार्फत जानकारी गराउँदै मेयर मादेनले वार्ताको माध्यमबाट समस्या समाधान गरी केबलकार निर्माणमा सघाउन आग्रह गरेका हुन् ।
नगर कार्यपालिकाको २०८१ साल माघ १५ गते बसेको बैठकले बन्द र हड्ताल समाधान नहुने निष्कर्ष निकालेको तथा २०८१ साल भदौ २१ गते बसेको बैठकले नगर क्षेत्रमा बन्द हड्ताल गर्न गराउन नपाउने निर्णय भएको उनले जानकारी गराएका छन् ।
मेयरद्वारा हस्ताक्षरित विज्ञप्तिमा भनिएको छ, ‘बन्द हड्तालले पाथीभराको दर्शन गर्न आउने बालबालिका, वृद्ध, अशक्त, सम्पूर्ण तीर्थालुहरूलाई समेत असर पर्ने र झडप हुँदा नेपालीहरूकै क्षति हुने हुँदा फुङलिङ नगरपालिकाको गम्भिर ध्यानाकर्षण भएको छ । यस नगरपालिकाको मिति २०८१ भाद्र २१ गते ४५ औं कार्यपालिका बैठकको निर्णय अनुसार फुङलिङ नगरपालिका क्षेत्र भित्र तथा अन्य जिल्लाहरूबाट ताप्लेजुङसम्म आउने यातायतका साधनहरू एवं फुङलिङ नगरपालिका भित्र सञ्चालित उद्योग, बैंक तथा वित्तिय संस्था, शैक्षिक संस्थाहरु कुनै पनि राजनैतिक दल, संघ संस्था वा समुहले अवरोध तथा वन्द, हडताल गर्न गराउन नपाउने निर्णय समेत भएको छ ।’
विज्ञप्तिमा अघि भनिएको छ, ‘आज मिति २०८१।१०।१५ गते बसेको ५४ औं कार्यपालिकाको बैठकले समेत बन्द हडताल मात्र समस्याको समाधान नहुने भनि निर्णय गरेकोले सबै पक्षहरू बिच आपसी छलफल, वार्ता, संवाद र समन्वयका आधारमा सबैको स्वामित्व र अपनत्व कायम गर्दै पुनः यातायात, उद्योग, व्यापार व्यवसाय, बैक तथा वित्तिय संस्था लगायत शैक्षिक संस्थाहरू बन्द हडताल नगरी सम्बन्धित पक्षहरूमा थप क्षति हुनबाट बच्न सहमतिका लागि वार्ताद्वारा समस्याका समाधान गर्न नगरपालिकाका तर्फबाट अनुरोध गर्दै केबलकार निर्माण कार्य अगाडि बढाउन सहयोग गर्नु हुन सम्बन्धित पक्षहरू बिच हार्दिक अनुरोध गर्दछौँ ।’