Lite Nepal

आइतबार, माघ २०, २०८१

काठमाडौं । विश्वमा प्रत्येक वर्ष फेब्रुअरी २ तारिखमा मनाइने विश्व सिमसार दिवस यस वर्ष ‘हाम्रो साझा भविष्यका लागि सीमसार क्षेत्रको संरक्षण’ नाराका साथ नेपालमा पनि विभिन्न कार्यक्रम गरी मनाइँदै छ । यस वर्षको नाराले सिमसार क्षेत्र र मानव जीवनबीच भविष्यको अन्तरसम्बन्धमा जोड दिएको छ ।

सिमसार भन्नाले पानीको मुहानलगायत दलदल एवं पानी जमेको क्षेत्रलाई जनाउँछ । ताल, तलैया, पोखरी, नदी, खोला, झरना, धानखेत आदि सिमसार क्षेत्रअन्तर्गत पर्छन् । जैविक विविधताको दृष्टिले महत्त्वपूर्ण प्राकृतिक स्थलका रूपमा रहेको सिमसारले विभिन्न प्रजातिका जीवजन्तु तथा वनस्पतिलाई बासस्थान प्रदान गर्नाका साथै मानिसलाई जीवनयापनका स्रोत प्रदान गर्छ ।

सिमसार क्षेत्रको संरक्षण र संवद्र्धन गर्ने हेतुले यो दिवस मनाइने गरेको छ । यद्यपि नेपालमा पछिल्लोपटक जलवायु परिवर्तनका असरले मौसममा देखिएको परिवर्तन र मानवीय गतिविधिको अतिक्रमणले सिमसार क्षेत्र सीमित हुँदै गएको देखिन्छ । तिनको क्षेत्रफल र गुणस्तर दिनानुदिन घट्दै गइरहेको छ । केही स्थानका सिमसार लोपसमेत भइसकेका छन् ।

यसबाहेक सिमसार क्षेत्रमा बढ्दो जनसङ्ख्या र बसाइँसराइ, नदीखोला तथा आसपासमा फोहरमैला विसर्जन, गरिबी र बेरोजगारी, परम्परागत कृषि प्रणालीमा भएको रूपान्तरण, सिमसारजन्य स्रोतको अधिक दोहन, बाह्य मिचाहा प्रजातिको अतिक्रमण, रासायनिक मल र विषादीको मिसावट, जथाभावी पूर्वाधार निर्माणलगायत चुनौती थपिएका छन् ।

जनचेतनाको कमी र सूचनाको अभावका कारण मानवीय गतिविधिले सिमसारको अतिक्रमण बढ्दो छ । वन तथा वातावरण मन्त्रालयको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले दिवसका अवसरमा वन परिसर प्रवेशद्वारमा रहेको होर्डिङ बोर्डमा नारा अङ्कित ब्यानर अनावरण गर्ने गरेको छ । यसबाहेक प्रदेशका वन मन्त्रालय, संरक्षित क्षेत्र र डिभिजन वन कार्यालयले आ–आफ्नो स्तरमा दिवसका विभिन्न कार्यक्रम गरी दिवस मनाउने गरिएको विभागका उपमहानिर्देशक वेदकुमार ढकालले राससलाई जानकारी दिनुभयो ।

विश्वव्यापी रूपमा सिमसार क्षेत्रको संरक्षण र संवर्द्धन गर्ने उद्देश्यले सिमसार महासन्धि (रामसार महासन्धि) सन् १९७१ मा इरानको रामसार सहरमा भएको थियो । रामसार महासन्धिमा हस्ताक्षर गरिएको दिन फेब्रुअरी २ तारिखलाई स्मरण गर्दै विश्व सिमसार दिवस मनाउन सुरु गरिएको हो ।

“जलवायुको असरका कारण वर्षा पनि कम हुँदै गएको छ । सिमसार क्षेत्रमा पछिल्लो समय पानीका स्रोत घट्दै गएका छन् । नदीको उपयोगमा सबैको जोड छ तर संरक्षणको दायित्व कसको भन्नेमा द्विविधा देखिन्छ”, उपमहानिर्देशक ढकालले भन्नुभयो, “कतिपय पालिकाका नदी खोलामै डम्पिङ छन्, यसमा तीनै तहका सरकारको ध्यान जान आवश्यक छ । सिमसार जोगाउनका लागि ‘वाटर हार्बेस्टिङ’मा लगानी गर्नु आवश्यक छ ।” सिमसार संरक्षणका लागि विभागले विद्यमान पोखरीको संरक्षण र नयाँ पोखरीसमेत निर्माण गरिरहेको उहाँले जानकारी गराउनुभयो ।

रामसार महासन्धिले अन्तर्राष्ट्रिय महत्व बोकेका तथा अति संवेदनशील सङ्कटापन्न र खतरापूर्ण जैविक प्रजाति वा पारिस्थितिकीय समुदायलाई आश्रय प्रदान गर्ने सिमसारलाई रामसारको सूचीमा सूचीकृत गर्ने गर्छ । हालसम्म यसमा आबद्ध देशको सङ्ख्या एक सय ७२ पुगेको छ । साथै दुई हजार चार सय २२ सिमसार रामसारको सूचीमा सूचीकृत छन् । सन् १९८७ डिसेम्बर १७ मा कोशीटप्पु वन्यजन्तु आरक्षलाई रामसार क्षेत्रमा सूचीकृत गरेर नेपाल सन् १९८८ अप्रिल १७ देखि रामसार महासन्धिको पक्ष राष्ट्र बनेको हो ।

रामसार सूचीमा हाल नेपालका कोशीटप्पु, घोडाघोडी ताल क्षेत्र, जगदीशपुर जलाशय, बिसहजारी तथा आसपासका ताल, राराताल, फोक्सुन्डो ताल, गोसाइँकुण्ड तथा आसपासका ताल, गोक्यो तथा आसपासका ताल, माईपोखरी र पोखरा उपत्यका विभिन्न ताल सूचीकृत छन् । यी सिमसार क्षेत्रले ओगटेको कुल क्षेत्रफल ६० हजार पाँच सय ६१ हेक्टर छ । सिमसार संसारको सबैभन्दा जैविक विविधता भएको बासस्थानमध्ये एक हो र धेरै लोपोन्मुख प्रजातिको बासस्थान पनि हो । विश्वको ४० प्रतिशत वनस्पति र वन्यजन्तु प्रजाति सिमसारमा बस्छन् वा प्रजनन गर्छन् ।

सिमसार लाखौँ घुमन्ते चरा, माछा, उभयचर, कीटपतङ्ग र बोटबिरुवाका लागि महत्त्वपूर्ण बासस्थान हो । यस्तै नेपालमा पाइने एक सय ७२ लोपोन्मुख प्रजातिका वनस्पति र प्राणी सिमसारमा आश्रित छन् । नेपालमा पाइने आठ सय ७८ प्रजातिका चरामध्ये सिमसारमा एक सय ९३ प्रजातिका चरा, २० प्रजातिका मेरुदण्ड भएका जीवमध्ये १७ प्रजातिका जीव र सात हजार प्रजातिका वनस्पतिमध्ये २५ प्रतिशत सिमसारमा आश्रित रहेको विभागको तथ्याङ्क छ । त्यस्तै दुई सय ४६ रैथाने फुल्ने प्रजातिका वनस्पति सिमसारमा आश्रित छन् ।

जलवायुको असर र अतिक्रमणको मारमा सिमसार
विश्वमा पछिल्लो समय जलवायुका असर तीव्र रूपमा देखापरेका छन् । अझ नेपालजस्ता संवदेनशील भूबनोट र पर्वतीय मुलुकमा त जलवायुको असर झन् प्रत्यक्ष र विकराल बन्दै गएको छ । विगत केही समय यतादेखि जलवायु परिवर्तनसँगै नेपालमा सिमसार क्षेत्रका रूपमा रहेका ताल, तलैया, घोल, नदी, चिस्यान क्षेत्रमा व्यापक परिवर्तन आएको छ । समग्रतामा वर्षाको मात्रामा देखिएको कमीले सुक्खा क्षेत्र वृद्धि हुनु, मिचाहा प्रजातिका वनस्पतिको वृद्धिलगायत कारण पनि सिमसार क्षेत्र सङ्कुचन भएको वा गुणस्तरमा कमी आएको यस क्षेत्रका जानकारहरूको भनाइ छ ।

मन्त्रालयको वातावरण विभागका उपसचिव मधु घिमिरेका अनुसार जलवायुको असरका साथै प्राकृतिक स्रोतको अधिकतम् दोहनले गर्दा सिमसार क्षेत्रमा पानीको कमी भएर सुक्खा क्षेत्रको वृद्धिले चुनौती थपिएको छ । “सिमसारको अत्यधिक दोहन, भूमि अतिक्रमण, प्रदूषण, जथाभावी पूर्वाधार निर्माण, पानीका मुहान तथा दलदल क्षेत्रको मर्मतसम्भार नहुँदा सिमसारको संरक्षण र व्यवस्थापनमा चुनौती देखिएको छ”, उहाँले भन्नुभयो ।

विश्वको करिब नौ प्रतिशत र नेपालको करिब पाँच प्रतिशत भूभाग सिमसार क्षेत्रले ओगटेको छ । नेपालका तराई, पहाड र हिमाली क्षेत्रमा अन्तर्राष्ट्रिय महत्व बोकेका सिमसार क्षेत्र छन् । विश्व संरक्षण सङ्घ नेपालको अभिलेखअनुसार नेपालमा एक सय ६३ सिमसार तराईमा छन्भने ७९ सिमसार हिमाली तथा पहाडी क्षेत्रमा छन् ।

सिमसारले जलवायु परिवर्तन तथा भूविनाशको असरलाई न्यूनीकरण गर्दै पर्यावरणीय सुरक्षा कवचसमेत प्रदान गर्दछ । पछिल्लो समय पर्यापर्यटनको गन्तव्य बन्दै गएको सिमसार क्षेत्रमा पाइने चराचुरुङ्गी, वन्यजन्तुको अवलोकनलगायत प्राकृतिक सौन्दर्यको अनुभव पनि यसले उपलब्ध गराएको छ ।

वन मन्त्रालयले सिमसार क्षेत्रका चुनौतीलाई मध्यनजर गरी प्रदेश र स्थानीय तहसँगको समन्वयमा सिमसार क्षेत्र संरक्षणसम्बन्धी विभिन्न कार्यक्रम तथा नीति अघि बढाएको वन तथा भू–संरक्षण विभागका महानिर्देशक बद्रीराज ढुङ्गानाले जानकारी दिनुभयो । सिमसारमा जल र जमिनको क्रिया र प्रतिक्रियाबाट जल परिचालन र शुद्धीकरणको प्रक्रिया चलिरहने हुनाले सिमसारलाई प्रकृतिको मिर्गौला पनि भन्ने गरिन्छ ।

“सिमसारले वस्तु र सेवा प्रदान गर्नुका साथै पानीका स्रोत संरक्षण गर्छ । पानीको गुणस्तर कायम राख्न, जलचक्र र जलवायुलाई नियमित गर्न तथा तापमानलाई सन्तुलन गर्न पनि सिमसारको महत्व छ । तसर्थ यसको संरक्षणमा सबैको हातेमालो आवश्यक छ”, महानिर्देशक ढुङ्गानाले भन्नुभयो ।

सरकारले सिमसार क्षेत्रको संरक्षणका लागि विभिन्न कानुनी र नीतिगत व्यवस्था गरेको उहाँले जानकारी दिनुभयो । नेपालले संविधान, जलस्रोत संरक्षण ऐन– २०४९, स्थानीय सरकार सञ्चालन ऐन– २०७४, वातावरण संरक्षण ऐन– २०७६, जलचर संरक्षण ऐन– २०१७, राष्ट्रिय सिमसार नीति– २०६९ एवं आवधिक योजनाहरू तथा राष्ट्रिय रामसार रणनीति तथा कार्ययोजना (सन् २०१८–२४)लगायत नीति र कानुनमार्फत सिमसारको संरक्षण, संवर्द्धन र व्यवस्थापनमा वन मन्त्रालयले प्रतिबद्धता जनाउँदै आएको जनाएको छ ।
भीष्मराज ओझा/रासस

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा