काठमाडौं । क्यानाडा र मेक्सिकोबाट आयात हुने वस्तुहरुमा अमेरिकाले २५ प्रतिशत कर लगाएको छ । चीनबाट आयात हुने सामानहरुमा भने अमेरिकाले १० प्रतिशत भन्सार शूल्क लगाउने भएको छ ।
अमेरिकी राष्ट्रपति डनल्ड ट्रम्पले क्यानाडा र मेक्सिकोबाट आयात हुने वस्तुमा २५ र चीनबाट आयात हुने सामानमा १० प्रतिशत कर लगाउन आदेश दिनुभएको हो । क्यानडाका अन्य वस्तुमा २५ प्रतिशत कर लागे पनि त्यहाँबाट आयात हुने ऊर्जामा भने १० प्रतिशत मात्र भन्सार लगाइएको छ ।
आयात कर बढाएपछि क्यानडा र मेक्सिकोका अधिकारीहरुले अमेरिकालाई जवाफ फर्काउने चेतावनी दिएको रोयटर्सले जनाएको छ । ट्रम्पको आदेश अमेरिकी समयअनुसार मंगलबार बिहान १२ बजेपछि लागू हुनेछ ।
ट्रम्पले अन्तर्राष्ट्रिय आपतकालीन आर्थिक शक्ति ऐन र राष्ट्रिय आपतकालीन ऐनअन्तर्गत राष्ट्रिय आपतकाल घोषणासमेत गर्नुभएको छ । जसले राष्ट्रपतिलाई संकटलाई सम्बोधन गर्न प्रतिबन्धहरू लगाउने अधिकार दिन्छ । राष्ट्रपति ट्रम्पको कदमले चीनसँग फेरि व्यापार युद्धको जोखिम बढेको छ ।