ताप्लेजुङ । प्रेस चौतारी नेपाल ताप्लेजुङले वसन्त पालुंवा अध्यक्ष रहेको १३ सदस्य समिति सर्वसम्मत चयन गरेको छ । मङ्गलबार छैटौं जिल्ला अधिवेशन सम्पन्न भएको हो ।
सर्वसम्मत चयन भएका अन्य पदाधिकारीमा क्रमशः उपाध्यक्ष मदन गौतम, उपाध्यक्ष साहारा लङ्वा, सचिव तेञ्जिङ पाङ्कर्मा शेर्पा, सहसचिवद्वयमा किरण विक र सुनिता रसाइली तथा कोषाध्यक्षमा संगिता कार्की रहेका छन् ।
समितिको सदस्यहरूमा नारद गुरागाँई, हेमराज निरौला, सोनिया तामाङ, लक्ष्मण पौडेल, मिङ्माखाण्डु शेर्पा(शर्मिला) र रोमन बोखिमलाई चयन गरेको निर्वाचन समितिका संयोजक तथा प्रेस चौतारी नेपालका केन्द्रीय सदस्य खगेन्द्र अधिकारीले जानकारी दिए ।
अधिवेशनले रविन भट्टराई, सुवास आचार्य र गंगा लिङखिमलाई केन्द्रीय अधिवेशन प्रतिनिधि र मदन गौतम, किरण विक र सुनिता रसाइलीलाई प्रदेश अधिबेशन प्रतिनिधिको रूपमा चयन गरेको छ ।
अधिबेशनका लागि प्रेस चौतारीका केन्द्रीय सदस्य अधिकारीको संयोजकत्वमा प्रेस चौतारीका कोशी प्रदेश सदस्य केशवप्रसाद भट्टराई तथा प्रेस चौतारी नेपाल ताप्लेजुङका निवर्तनमान उपाध्यक्ष अमृता थलङ सदस्य रहेको निर्वाचन समिति गठन भएको थियो ।
नवनिर्वाचित अध्यक्ष पालुङ्वाले पत्रकारिता क्षेत्रको संस्थागत विकास र उन्नयनमा प्रेस चौतारीको नवनिर्वाचित कार्य समिति प्रतिबद्ध र कटिबद्ध ढंगले लाग्ने बताएका छन् ।
अधिवेशनको उद्घाटन सत्रमा नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् प्रदेशसभामा सांसद तिलकुमार मेन्याङ्वो, प्रेस चौतारीका केन्द्रीय सदस्य खगेन्द्र अधिकारी, एमाले ताप्लेजुङका सचिव सन्तोष चाम्लिङ, उपसचिव तथा जनवर्गीय सङ्गठन मोर्चा प्रमुख गोपाल न्यौपाने, पत्रकार महासङ्घका केन्द्रीय सदस्य माला पालुङ्वा, पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष सुवास आचार्य, आदिवासी जनजाति पत्रकार महासङ्घ ताप्लेजुङका अध्यक्ष दिलकुमार फेम्बो र प्रेस युनियन ताप्लेजुङका सचिव तरुण भारती लगायतले अधिवेशन सफलताको शुभकामना व्यक्त गरेका थिए ।
अधिवेशनकै अवसरमा प्रेस चौतारी ताप्लेजुङले प्रत्येक वर्ष वितरण गर्ने विभिन्न पुरस्कार पनि वितरण गरेको छ ।