काठमाडौं । ताप्लेजुङमा रहेको पाथीभरामा तीर्थयात्रीको सहजताका लागि भन्दै निर्माण सुरु भएको केबलकारको विरोधमा गरिएको सबै बन्द र आन्दोलनका कार्यक्रम फिर्ता भएको छ ।
सरकार र आन्दोलनरत ‘नो केबलकार समूह’ बिच भएको वार्ता सकारात्मक भएका कारण सबै आन्दोलन र बन्दका कार्यक्रम फिर्ता लिएको उक्त समूहले जनाएको छ । उक्त समूहसँग सरकारले सोमबार र मङ्गलबार वार्ता गरेको थियो ।
वार्तामा अहिलेलाई पाथीभरामा केबलकार निर्माणका लागि भइरहेका काम स्थगित गर्ने, पक्राउ परेका कार्यकर्ता रिहा गर्ने र घाइतेको सम्पूर्ण उपचार खर्च सरकारले बेहोर्ने निर्णय भएको बताइएको छ ।
पुनः वार्तामा बस्ने र अन्य थप विषयका साथै केबलकार निर्माणलाई कसरी अघि बढाउने भन्ने विषयमा छलफल हुने सरकारी वार्ता टोलीका प्रतिनिधिले जनाएका छन् । अर्को बैठक अब २७ गते आइतबार बस्नेछ ।
सहमतीमा के छ ?
ताप्लेजुङ जिल्ला स्थित मुक्कुम्लुङ पाथीभरामा केबलकार निर्माण भइरहेको विषयमा मुक्कुमलुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबलकार खारेजी सङ्घर्ष समिति, मुक्कुम्लुङ ताङ्सेप चुम्भो र मुक्कुम्लुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समितिबाट असहमति रहेको र द्वन्द्व समेत भइरहेको अवस्था विद्यमान रहेको विषयमा गृह मन्त्रालयबाट गठित वार्ताटोली र सम्बद्ध संस्थाका प्रतिनिधिहरुका बीच तपसिल बमोजिमका बुँदाहरुमा सहमति भयो ।
तपसिल
१. पाथीभरा केबलकारको स्टेसनमाथिको निर्माण कार्य स्थगन गर्ने र स्टेसनका सन्दर्भमा आगामी वार्तामा विस्तृत छलफल गर्ने ।
२. सरकारले घोषणा गरे बमोजिम आन्दोलनका क्रममा घाइते भएकाहरुको निःशुल्क र प्रभावकारी रुपमा स्वास्थ्य उपचार गर्ने ।
३. २०८१ माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने ।
४. आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने ।
५. मुक्कुमलुङ संरक्षक पक्षबाट अनिश्चितकालीन यातायात बन्द स्थगन गर्ने ।
६. मुक्कुमलुङ संरक्षक पक्षधरहरुबाट वार्ताका दौरानमा माग भएका पाथीभरा केबलकार आयोजना निर्माणमा रहेका असहमति लगायतका विषयका सम्बन्धमा विस्तृत छलफल गर्न अर्को वार्ता मिति २०८१ माघ २७ गते बिहान ११ बजे आयोजना गर्ने ।