उदयपुर । उदयपुरको बेलकामा प्याराग्लाइडिङ दुर्घटना हुँदा जापानका नागरिकको मृत्यु भएको छ ।
प्याराग्लाइडिङ दुर्घटनामा परेर ७२ वर्षीय काजी ताकासीको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु भएका जापानीज नागरिक ४ जनाको टोलीमा नेपाल घुम्न आएका थिए ।
बेलका नगरपालिका–८ बोक्ताङ डाँडामा प्याराग्लाइडिङ सञ्चालनमा छ । आफैं प्याराग्लाइडिङ गरेर उडेका जापानीज नागरिक त्यहीँको फुटबल मैदानमा ‘ल्याण्ड’ गर्ने क्रममा घाइते भएका थिए ।
घाइते अवस्थाका उनलाई उद्धार गरेर उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको थियो । उनको उपचारका क्रममा बुधबार साँझ मृत्यु भएको उदयपुर प्रहरी प्रमुख एसपी हरिहरनाथ योगीले जानकारी दिए ।
उनका अनुसार शवलाई पोस्टमार्टमका लागि टिचिङ अस्पताल काठमाडौं पठाइएको छ । दुर्घटनाको कारण खुल्न नसकेको र थप अनुसन्धान भइरहेको एसपी योगीले बताए ।