काठमाडौं । एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले भारतमा नेपाली विद्यार्थीको शङ्कास्पद मृत्युको घटनामा गम्भिर ध्यानाकर्षण भएको बताएका छन् ।
सामाजिक सञ्जाल फेसबुकमा लेख्दै उनले भारत ओडिसाको भुवनेश्वरस्थित कलिंगा इन्स्टिच्युट अफ इन्डष्ट्रियल टेक्नोलोजी (केआईआईटी) कलेजमा होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्सालको शङ्कास्पद मृत्युको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको बताएका हुन् । ‘प्रकृतिको मृत्यु पश्चात सोधखोज र छानबिनको माग गर्ने सन्दर्भमा नेपाली बिद्यार्थीमाथि भएको दुर्व्यवहारप्रति दुःख व्यक्त गर्दछु,’ उनले लेखेका छन्, ‘नेपाली विद्यार्थीहरूको सुरक्षाप्रति संवेदनशील हुन र उनीहरूको अध्ययनलाई निरन्तरताको व्यवस्था मिलाउन भारत सरकारको ध्यानाकर्षण गर्दछु ।’
प्रकृति लम्सालको मृत्युको घटनाको सत्य तथ्य छानबिन र निष्पक्ष अनुसन्धान मार्फत् यथार्थ सार्वजनिक गरी दोषी उपर करवाही गर्न उनले भारत सरकारको ध्यानाकर्षण गरेका छन् । प्रकृति लम्सालको मृत्युको घटनाको छानबिन र उक्त कलेजमा अध्ययनरत विद्यार्थीहरूको पठन पाठन र सुरक्षाको प्रबन्धका लागी आवश्यक पहल गर्न उनले नेपाल सरकारको ध्यानाकर्षण समेत गरेका छन् ।
भारतको कलिंगा इन्स्टिच्यूट अफ इन्डस्ट्रियल टेक्नोलोजी (केआईआईटी) मा अध्ययनरत एक जना नेपाली विद्यार्थी होस्टलमा मृत अवस्थामा भेटिएकी छन् ।
ओडिसाको भुवनेश्वरस्थित कलेजको होस्टलमा बसेर बी–टेक तेस्रो वर्षमा अध्ययनरत बुटवलकी प्रकृति लम्साल मृत अवस्थामा भेटिएकी हुन् । कलेजले उनले आत्महत्या गरेको भन्दै विज्ञप्ति जारी गरेको द न्यू इण्डियन एक्सप्रेसले उल्लेख गरेको छ ।
यता केआईआईटीमा मृत भेटिएकी नेपाली विद्यार्थीको न्यायको माग गर्दै प्रदर्शन गरेकाहरु माथि कलेज प्रशासनले दमन गरेको छ ।
कलेजको होस्टलमा मृत अवस्थामा फेला परेकी बुटवलकी प्रकृति लम्सालबारे गम्भीरतापूर्वक अनुसन्धान गर्न माग गर्दै प्रदर्शन गरेका नेपालीहरूलाई उल्टै कलेजबाट निकालिएको एक विद्यार्थीले बताए ।