ताप्लेजुङ । प्रसिद्ध तीर्थस्थल पाथीभरामा जाने तीर्थयात्रीको सहजताका लागि सबै प्रक्रिया पुरा गरेर केबलकार निर्माणको काम भइरहेको छ । मङ्गलबार मात्रै जिल्लावासीले केबलकारको पक्षमा सद्भाव र्याली निकाले र, केबलकार चाँडो निर्माण सकेर जिल्लाको विकासमा अझै जुट्न आग्रह गरे । तर, अझै पनि जिल्लावासी केबलकारको विपक्षमा छन् भन्दै भ्रम छर्न भने रोकिएको छैन । विभिन्न स्वार्थमा विरोध गर्नेहरू जिल्ला भित्र पनि केही छन् । त्यस्तै सूचीमा पर्छन् फुङलिङ नगरपालिकाका तत्कालीन जनप्रतिनिधि डम्बरबहादुर पालुङ्वा ।
उनी तत्कालीन नगरसभा सदस्य थिए । उनी नगरसभा सदस्य भएकै समयमा फुङलिङ नगरपालिकाले पाथीभरामा केबलकार निर्माण गर्ने अनुमति दिएको हो । उक्त अनुमति दिने निर्णयमा डम्बरबहादुरले हस्ताक्षर गरेका छन् । उक्त हस्ताक्षर अझै आलै छ, तर उनी अहिले केबलकार निर्माणको विपक्षमा अगुवा नै भएर हिँडिरहेका छन् ।
२०७५ सालमा पुस १४ गते शनिबार फुङलिङ नगरपालिकाका तत्कालीन मेयर छत्रपति प्याकुरेलको अध्यक्षतामा सम्पन्न नगरपालिकाको चौथो नगरसभाले पाथीभरादेवी दर्शन केबलकार प्रा.लिलाई नगरको वडा नं. ११ तल्लोफेदी-काफ्लेपाटी क्षेत्रबाट पाथीभरादेवी मन्दिर सम्म जाने केबलकार (रज्जुमार्ग) निर्माण तथा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको थियो । उक्त निर्णयमा ६१ जनाले हस्ताक्षर गरेका छन् । जसको ४६ नंबरमा उनले हस्ताक्षर गरेका छन् ।
नगर सभाले विभिन्न निर्णय गर्दा निर्णय नम्बर ७ मा पाथीभरादेवी दर्शन केबलकार प्रालिलाई नगरको वडा नं. ११ तल्लोफेदी-काफ्लेपाटी क्षेत्रबाट पाथीभरादेवी मन्दिर सम्म जाने केबलकार (रज्जुमार्ग) निर्माण तथा सञ्चालन गर्न अनुमति दिने निर्णय गरेको अझै पनि नगरपालिकामा देख्न सकिन्छ ।
उनी तत्कालीन लिम्बुवान मुक्ति मोर्चाका सक्रिय सदस्य थिए । २०७४ सालको स्थानीय तह निर्वाचनमा फुङलिङ नगरपालिका – ७ बाट लिम्बुवानका तर्फबाट नेकपा एमालेसँग चुनावी सहकार्य गर्दै सूर्य चुनाव चिन्हबाट उनी नगर सदस्य पदमा विजयी भएका थिए । ‘त्यस समय पालुङ्वा खुलेर केबलकार र जिल्लाको विकासका विषयमा कुरा गर्थे,’ एक स्थानीय भन्छन्, ‘अहिले उनी नो केबलकार भन्दै हिँडेका छन् ।’ उनको आजकल दैनिकी पनि बालुडाँडामा बसेर आफ्नै सहकर्मी, पूर्व जनप्रतिनिधि, प्रहरी र केबलकार पक्षधर सर्वसाधारणलाई ढुङ्गा हान्दै बित्ने गरेको स्थानीय बताउँछन् ।