ताप्लेजुङ । पाथीभरा क्षेत्र विकास समितिका सदस्य पृथ्वी लिम्बुले आफूलाई गलत सूचना दिएकाले पाथीभरा क्षेत्रमा बनिरहेको केबलकारको जग्गाको विषयमा गल्ति बोल्न पुगेको स्वीकारेका छन् ।
नेपाली रेडियो नेटवर्कको कार्यक्रम ‘नेपाली बहस’मा आइतबार विहान सञ्चारकर्मी ऋषी धमलासँग कुरा गर्दै सदस्य लिम्बुले पाथीभरामा केबलकार निर्माणका लागि जग्गा खरिद गर्दा घोटला भएको र उक्त जग्गा एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईकी श्रीमती र इश्वरी पौडेल लगायतको टोलीले सस्तोमा किनेर महँगोमा बिक्रि गरेको आरोप लगाएका थिए ।
उक्त कुरा सामाजिक सञ्जालमा आएपछि सोमबार सञ्चारकर्मीसँग कुरा गर्दै लिम्बुले आफूलाई जानकारी दिने व्यक्तिले गलत जानकारी दिएकाले गल्ति बोल्न पुगेको स्वीकारेका हुन् ।
‘इश्वरी पौडेलको मिसेस्को नाम रहेछ, मलाई जानकारी दिनेले योगेश दाईको मिसेस् भनेर गलत जानकारी दियो । तपाईहरूले सच्याइदिनुस् न है,’ लिम्बुले सञ्चारकर्मीलाई भनेका छन् । उनको यो भनाईको अडियो पनि आइतबार सार्वजनिक भएको छ ।
ताप्लेजुङको पाथीभरामा तीर्थयात्रीको सहजताका लागि केबलकार निर्माण हुँदा जिल्लालाई नै फाइदा पुग्ने भएकाले ताप्लेजुङबाट निर्वाचित प्रतिनिधिसभा सदस्यसमेत रहेका एमाले सचिव योगेश भट्टराईले केबलकार निर्माण हुनुपर्ने बताउँदै आएका छन् ।
केबलकार निर्माणका लागि सबै कानुनी प्रकृया पुरा गरेर संघ, प्रदेश र स्थानीय सरकारले पनि अनुमति दिएको अवस्थामा केबलकार निर्माण रोकिनु नहुने उनको भनाई छ । विकास र समृद्धीको यात्रामा कोही बाधक बन्न नहुने योगेश भट्टराईले बताउन थालेपछि केबलकारको विरोधमा रहेकाहरूले विभिन्न विषय जोड्दै भट्टराईमाथि आरोप थोपर्दै र भ्रम छर्दै आएका छन् ।
केबलकार निर्माणको संघ र स्थानीय सरकारले अनुमती दिएको, ठेकेदारले ठेक्का लिएको र यसमा आफूले जिल्लाको विकास हुनेभएकाले राम्रो हो÷ठिक हो भन्दा सबै योजना नै योगेशको हो जस्तो देखाउँदै आरोप र भ्रम छर्ने काम भइरहेको भट्टराई बताउँछन् ।
यता जग्गा खरिद प्रकृयामा जोडिएका पर्यटन व्यवसायीसमेत रहेका इश्वरी पौडेलले पनि केबलकारको कुनै खण्ड र प्रकृयामा योगेश भट्टराई र उनका परिवार नजोडिएको बताएका छन् । ‘जग्गा हामीले खरिद गरेको हो । पछि चन्द्र ढकालको आईएमई ग्रुपलाई बिक्रि गरेको हो । यसमा योगेश र उहाँको परिवारको कतै संलग्नता छैन,’ पौडेलले भनेका छन् ।
यता केबलकार कम्पनीका सञ्चालक रुद्र पौडेलले इश्वरी पौडेलसहितको समूहबाट आफूहरूले जग्गा खरिद गरेको बताए । त्यसअघि कतिमा खरिद गरे भन्ने विषय आफूहरूलाई थाहा नभएको र हाल यो जग्गा र केबलकारका विषयमा भट्टराई र उनको परिवारको कतै संलग्नता नरहेको उनको भनाई छ ।
उनले योगेश भट्टराई ताप्लेजुङका जनप्रतिनिधि भएकाले विकास निर्माणको विषयमा बोल्नु स्वभाविक भएको प्रतिक्रिया दिए । ‘पहिले सस्तोमा या महँगो कतिमा खरिद गरेका हुन्, त्यो हामिलाई थाहा भएन । हामीले खरिद गरेको सबै कुरा सार्वजनिक नै छ,’ उनले भने, ‘अहिले आएर यो विषय जोडेर विरोध हुन आवश्यक छैन ।’