काठमाडौं । एमाले सचिव तथा प्रतिनिधिसभा सदस्य योगेश भट्टराईले मदन भण्डारी सडक मार्ग (वसन्तपूर–गुफा–ढुंगेसाँघु–दोभान)को स्तरोन्नतिका लागि भौतिक, पूर्वाधार तथा यातायात मन्त्रालयलाई बजेट व्यवस्थापनका लागि आग्रह गरेका छन् ।
भौतिक पूर्वाधार तथा यातायात मन्त्री देवेन्द्र दाहाललाई भेटेर भट्टराईले यो सडक खण्ड ताप्लेजुङ, सङ्खुवासभा र तेह्रथुम जिल्लाबाट धनकुटा, धरान, इटहरी र विराटनगरसम्म आवत–जावतका लागि सहज र भरपर्दो भएकाले यसको स्तरोन्नति आवश्यक रहेको बताए ।
मन्त्री दाहाललाई सडकको विषयमा जानकारी गराउँदै भट्टराईले मेची राजमार्ग र तमोर करिडोर सडक र यस क्षेत्रका पुल विभिन्न समयमा बाढीपहिरोको कारण क्षति भएको अवस्थामा पनि उक्त मार्ग प्रयोग भएको जानकारी गराएका थिए ।
यो मार्ग गुराँसको राजधानी तीनजुरे मिल्के जलजले (टीएमजे) क्षेत्रमा पर्ने हुँदा पर्यटकीय दृष्टिलेसमेत महत्वपूर्ण रहेको भट्टराईको भनाई छ । उनले यो मार्गमा सहज रूपमा यातायात सञ्चालनका लागि चालू आर्थिक वर्षमा काम गर्न ताप्लेजुङ जिल्ला सडक कार्यालयबाट काम हुनेगरि २५ करोड रुपैयाँ र सङ्खुवासभा जिल्ला सडक कार्यलयबाट काम हुनेगरि २५ करोड रुपैयाँ बजेट व्यवस्थापनका लागि मन्त्री दाहाल समक्ष अनुरोध पनि गरेका छन् ।
साथै आगामी आर्थिक वर्ष २०८२/८३ का लागि यस सडकमा महत्वका साथ बजेट विनियोजन गर्न पनि भट्टराईले आग्रह गरे । यो मार्ग कोशी प्रदेशको हिमाली जिल्ला ताप्लेजुङलाई तराइसँग जोड्ने विभिन्न सडकहरू मध्ये छोटो र भरपर्दो मानिन्छ । उक्त भेटमा मन्त्री दाहालले यो मार्गको स्तरोन्नति गर्ने विषयमा आफूले प्राथमिकताका साथ काम गर्ने आश्वासन दिएको भट्टराईका स्वकीय सचिव सन्तोस मादेनले जानकारी दिए ।