Lite Nepal

मंगलबार, फाल्गुण २७, २०८१

काठमाडौं । राष्ट्रिय युवा संघ नेपालले झापामा आफ्नो नेता कार्यकर्तामाथि भएको साङ्घातिक आक्रमणको घटनाको यथार्थ सार्वजनिक गर्न र छानविन समिति बनाई दोषीलाई आवश्यक कारबाही गर्न सरकारको ध्यानाकर्षण गरेको छ ।

मंगलबार एक विज्ञप्ति जारी गर्दै संघका अध्यक्ष क्षितिज थेवेले घटनाको सत्यतथ्य चाँडै सार्वजनिक गर्दै दोषीलाई कारबाही नगरे संघ सशक्त प्रतिवादमा उत्रने चेतावनी समेत दिएका छन् ।

संघका केन्द्रीय कमिटी सदस्य एवं झापा जिल्ला इन्चार्ज खगेन्द्रराज आङदाङ्वे, जिल्ला नेताहरू विश्वदीप राजवंशी र अजय खवासमाथि मंगलबार बिहानको राती करिब १ बजे साङ्घातिक आक्रमण भएको थियो ।

इन्चार्ज आङ्देम्बेको अवस्था गम्भीर छ । उनको बिर्तामोडस्थित बी एन्ड सी अस्पतालमा उपचार भइरहेको छ । आङ्देम्बेलाई आईसीयूमा भर्ना गरिएको छ ।

‘व्यक्तिले निर्वाध तवरले जीवन जिउन पाउने अधिकारलाई कुण्ठित गरी ज्यानै मार्ने उद्देश्यले योजनावद्ध तवरले गरिएको साङ्घातिक आक्रमणको घोर निन्दा र भर्त्सना गर्दछौं । उपचाररत कमरेडहरूको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं,’ अध्यक्ष थेबेद्धारा जारी विज्ञप्तिमा भनिएको छ, ‘यस किसिमको अराजकता, अशान्ति र आपराधिक गतिविधिको नियन्त्रण गर्नु कानुनी राज्यको कतव्य हो। घटनामा संलग्न अपराधीहरूलाई यथाशक्य पक्राउ गरी हदैसम्मको कारवाही गर्न नेपाल सरकार समक्ष जोडदार माग गर्दछौं ।’

यस घटनालाई सामान्य रूपमा लिन नसक्ने बताउँदै थेबेले भने, ‘यो घटनापछि झापा जिल्लाको सुरक्षाका विषयमा प्रशासन समक्ष गम्भिर प्रश्न उठेको छ । सो घटनाको यथार्थ सार्वजानिक गर्न छानविन समिति बनाई आवश्यक कारवाही अघि नबढाइए संघ सशक्त प्रतिवादमा उत्रन बाध्य हुनेछ ।’

प्रहरीका अनुसार घटना हेर्दा हत्या गर्ने योजनासहित आक्रमण भएको देखिन्छ । सुरुमा आङ्देम्बेमाथि खुकुरी प्रहार भएको थियो । उनको शरीरका विभिन्न भागमा गहिरो चोट लागेको छ ।

प्रहरीका अनुसार बिर्तामोड नगरपालिका -४ का खगेन्द्र खालिङले मंगलबार बिहानका राति १ बजेतिर आङ्देम्बेलाई घरमा बोलाएको घाइतेहरूले बताएका छन् । घरमा छिर्न खोज्दै गर्दा उनीमाथि खुकुरी प्रहार भएको प्रहरीको भनाइ छ ।

राजवंशीलाई भने भद्रपुर रोडमा रहेको दरबार रेष्टुरेण्टबाट ओर्लिदै गर्दा मोटरसाइकलमा रहेका ४ जनाले आक्रमण गरेको प्रहरीको भनाइ छ ।

यसैबिच उक्त घटनामा संलग्न एक जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेमा बिर्तामोड ४ का खगेन्द्र खालिंग रहेका छन् । उनले नै आङ्देम्बेलाई घरमा बोलाएका थिए । खालिंगलाई बिर्तामोडबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालयका डिएसपी प्रवक्ता खगेन्द्रबहादुर खड्काले जानकारी दिए । घटनामा अन्य युवाहरू समेत भएको आशंकामा प्रहरीले खोजी कार्य जारी राखेको छ ।

तपाईको प्रतिक्रिया
सम्बन्धित खबरहरु
Social Media
हाम्रो बारेमा

प्रकाशक कम्पनी : प्रदेश सूचना नेटवर्क प्रा.लि.
दर्ता नं. : २४२२३२/०७७/०७८
www.litenepal.com नेपाली भाषाको अनलाइन समाचार पोर्टल हो । यसको केन्द्रीय कार्यालय काठमाडौमा छ, भने कोशी प्रदेशको राजधानी विराटनगरमा क्षेत्रीय र झापा बिर्तामोडमा समेत शाखा कार्यालय छ ।

हाम्रो टिम

सम्पादक
रमेश गाम्नागे

 

सम्पर्क

केन्द्रीय कार्यालय : थापागाउँ, काठमाडौं
(977)9820718140
[email protected]
क्षेत्रीय कार्यालय : बरगाँछी, विराटनगर
शाखा कार्यालय : बिर्तामोड ५, झापा